प्रदेश १ मा एण्टिजेन किट अभाव

विराटनगर । प्रदेश १ मा एण्टिजेन किट अभाव भएको छ । स्वास्थ्य विभागबाट न्यून संख्यामा मात्र किट प्राप्त हुने भएकोले अभाव भएको सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले जानकारी दिएका छन् ।

ताप्लेजुङ्ग लगायत प्रदेश १ मा कोभिड उपचार र रोकथामका लागि भइरहेको प्रयासका सम्बन्धमा नेकपा एमालेका नेता योगश भट्टराईको संयोजनमा भएको भर्चुअल छलफलमा सचिव कार्कीले एण्टिजेन किट अभाव भएको बताएका हुन् । उनले प्रदेशमा अहिले एण्टिजेन किट शून्य रहेको जानकारी दिए ।

ग्रामिण र दुर्गम क्षेत्रमा कोरोना संक्रमितको पहिचान गर्न तत्काल ५ हजार किट आवश्यक भएको भन्दै उनले त्यसको प्रवन्ध मिलाइदिन पनि आग्रह गरेका छन् ।

पहाडी जिल्लाहरुमा पिसिआर परीक्षण गराउन कठिन भएको र पिसिआरको रिपोर्ट ढिलो आउँदा रोकथाम र नियन्त्रणमा समस्या भएको त्यहाँका स्थानीय तहका जनप्रतिनिधिहरुले गुनासो गरेका थिए । उनीहरुले पिसिआर परीक्षणका लागि संकलन गरेको स्वाब विराटनगरमा लिन नमान्ने, लिएपनि ढिलो परिक्षण हुने समस्या भएको भन्दै रिपोर्ट आउँदा गम्भीर बिरामीको मृत्यू भइसक्ने अवस्थाप्रति उनीहरुले सरकारको ध्यानाकर्षण गराएका थिए ।

पहाडी जिल्लाहरुमा संक्रमितको संख्या बढ्दै गएको तर पूर्व तयारीमा ध्यान नपुगेकोप्रति स्थानीय जनप्रतिनिधिहरुले सरकारको ध्यानाकर्षण गराएका थिए । पहाडी जिल्लाहरुमा अक्सिजन अप्रयाप्त रहेको, अक्सिजनको नियमित आपूर्तिको प्रवन्ध गर्नुपर्ने अवस्था रहेको र भेन्टिलेटर आवश्यक भएपनि सञ्चालन गर्ने जनशक्ति नभएकोले त्यसमा सरकारले ध्यान पुर्याउन नसकेको प्रति सांसद भट्टराई मार्फत उनीहरुले सरकारको ध्यानाकर्षण गराएका थिए ।

प्रतिनिधि सभा सदस्य तथा एमाले नेता भट्टराईले एण्टिजेन लगायत आवश्यक स्वास्थ्य सामग्रीको प्रवन्ध गर्न आफुले पनि पहल गर्ने बताएका थिए ।

सोमबार, ०३ जेठ, २०७८, बिहानको ०९:५९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर