विराटनगर । प्रदेश १ मा कोरोना परीक्षण गर्नेको संख्या घटेसँगै संक्रमित हुनेको दर पनि घटेको छ ।
प्रदेश १ सामाजिक विकास मन्त्रालयले दिएको पछिल्लो २४ घण्टाको तथ्यांक अनुसार परीक्षण गराएकामध्ये ४५ प्रतिशतमा कोरोना संक्रमण देखिएको छ । हिंजो सार्वजनिक तथ्यांकमा भने संक्रमित दर ४६ प्रतिशत थियो ।
प्रदेश १ मा आज १ हजार ३१९ जनाको पीसीआर परीक्षण गरिएको छ जसमध्ये २४३ महिला र ३४८ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हिंजो सार्वजनिक तथ्यांक अनुसार १ हजार ६३० जनाको पीसीआर परीक्षण गर्दा ३०० महिला र ४५१ जना पुरुषको रिपोर्ट पोजेटिभ आएको थियो ।
प्रदेश १ मा थपिएका संक्रमितमध्ये मोरङमा ३२७, झापामा १६०, सुनसरीमा ३७, ताप्लेजुङमा ११, भोजपुरमा १०, इलाममा ४, पाँचथरमा २, उदयपुरमा १ र प्रदेश १ बाहिरका ३९ जनामा संक्रमण देखिएको छ ।
मोरङको पनि विराटनगरमा १४३ महिला र १६२ पुरुष सहित ३०५ जनामा कोरोना संक्रमण देखिएको छ । यस्तै कटहरीमा ६, धनपालथान र रंगेलीमा ३–३, जहदा, बुढीगंगा र उर्लाबारीमा २–२, सुन्दरहरैचा, सुनबर्षी, मिक्लाजुङ र स्थानीय तह नखुलेका १–१, झापाको मेचीनगरमा ३०, विर्तामोडमा २९, दमकमा २६, कनकाईमा १७, अर्जुनधारामा १६, बुद्धशान्तिमा १४, कमल गाउँपालिकामा ८, कचनकवलमा ६, भद्रपुर, हल्दिबारी र शिवसताक्षीमा ४–४ र स्थानीय तह नखुलेका २, सुनसरीको धरानमा १७, इटहरीमा ६, देवानगञ्जका ५, इनरुवामा ४, बर्जुमा ३, दुहवी र रामधुनीमा १–१ र स्थानीय तह नखुलेका २ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
त्यसैगरि ताप्लेजुङको श्रीजंगामा ११, भोजपुरको आमचोकमा ९ र भोजपुर नगरपालिकामा १, इलामको चुलाचुलीमा २, रोङ र इलाम नगरपालिकामा १–१, पाँचथरको फिदिम र स्थानीय तह नखुलेका १–१, उदयपुरमा १ र प्रदेश १ बाहिरका ३९ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४३ हजार १९८ पुगेको छ । संक्रमित भएका मध्ये ३० हजार ८५६ संक्रमणमुक्त भएका छन् । आज १४५ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या ११ हजार ७०८ पुगेको छ ।