विराटनगर । प्रदेश १ का कोभिड अस्पताललाई माग बमोजिमको अक्सिजनको आपुर्ति गर्न एस.जी ग्रुपले चीनबाट आवश्यक स्वास्थ्य सामाग्री आयात गर्ने भएको छ ।
ग्रुपले चीनबाट अक्सिजन सिलिण्डर, अक्सिजन मास्क र अक्सिजन ब्याग लगायतका स्वास्थ्य सामाग्री आयात गर्ने भएको हो । उपचारको अभावमा संक्रमितले अनाहककमै ज्यान गुमाउनुपर्ने परिस्थितिको अन्त्य गर्न निजी क्षेत्रबाट पहिलोपटक ठुलो संख्यामा आवश्यक स्वास्थ्य सामाग्री आयात गर्न लागिएको एस.जी ग्रुपका अध्यक्ष शिवप्रसाद घिमिरेले बताए । उनले पहिलो चरणमा ४० लिटर क्षमताका ५ हजार सेट अक्सिजन ब्याग, ५ हजार अक्सिजन मास्क र २ हजार पल्स अक्सिमिटर आयात गर्न लागिएको जानकारी दिए ।
‘पछिल्लो समय बढ्दो संक्रमण दरका कारण अस्पतालमा अक्सिजन खपत बढे्को छ, अक्सिजनको अभावमा बिरामीले अकालमै ज्यान गुमाउनुपर्ने अवस्था छ’, उनले भने, ‘हामीले त्यो अवस्थाको अन्त्य गर्ने प्रयास मात्र गरेका हौं । ’
हवाईमार्ग हुँदै सोमबारसम्म काठमाण्डौं आईपुग्ने भनिएको स्वास्थ्य सामाग्री लागत मुल्यमै अस्पताल तथा सरोकारवालाहरुलाई उपलब्ध गराउने ग्रुपको तयारी छ । दोेश्रो चरणमा भने ग्रुपले जेठ ७ गतेसम्म स्थलमार्ग हुँदै १० लिटर क्षमताका २ हजार २ सय युनिट र ४० लिटर क्षमताका २ हजार २ सय ५० युनिट अक्सिजन सिलिण्डर आयात गर्न लागेको जनाएको छ । अस्पतालमा अक्सिजनको आपुर्ति सहज बनाउने ग्रुपको उद्देश्य छ ।