निजी कोभिड अस्पतालका बेड भरिए

नेशनल ट्रेडिङको दुई तले भवनमा बनाएको ८० बेडको उपचार केन्द्र मर्मतका लागि केही दिन बन्द

विराटनगर । कोरोना संक्रमितको संख्यामा बृद्धि भएसँगै विराटनगरका निजी अस्पतालले सञ्चालन गरेको कोभिड अस्पतालका बेड एकैदिनमा भरिएका छन् ।

कोरोना सङ्क्रमितको उपचार गरिरहेका विराटनगरका दुई मेडिकल कलेजको बेड भरिएपछि शनिबार रातिबाट ती अस्पतालमा संक्रमितले भर्ना पाएका छैनन् ।

विराट मेडिकल कलेजलले शुक्रबारयता नयाँ बिरामी भर्ना लिएको छैन । नोबेल मेडिकल कलेजले पनि शनिबार रातिबाट बिरामी भर्ना गरेको छैन ।

नोबेल मेडिकल कलेजका प्रबन्धक नारायण दाहालका अनुसार शनिबार दिउँसोसम्म कलेजमा ३८ जना सङ्क्रमित थिए । राति करिब १० बजेसम्म अस्पतालमा भएका ७० वटै बेड भरिएको उनले बताए । एकैदिन ३५ जना विरामी आएपछि बेड भरिएकोले नयाँ विरामी भर्ना नलिएको उनको भनाइ छ ।

बिरामीका आफन्तले बारम्बार फोन गरिरहेको भएपनि बेड खाली नभएकोले भर्ना लिने अवस्था नरहेको अस्पतालले जनाएको छ । नोबेलको कोभिड उपचार केन्द्रमा १० वटा मात्रै आईसीयू रहेकोमा गम्भीर प्रकृतिका बिरामी बढेपछि ३९ बेड आइसियु बनाइएको छ । अस्पतालले १२० बेडको कोभिड अस्पताल सञ्चालन गर्ने बताएपनि अहिले ७० बेडमात्रै तयारी अवस्थामा रहेको जनाएको छ ।

विराट मेडिकल कलेजको अवस्था पनि उस्तै छ । कलेजको आइसोलेसन इञ्चार्ज सुनिल देवका अनुसार विराटमा शुक्रबारबाटै बेड भरिएको थियो । अस्पतलको कोभिड उपचार केन्द्रमा १०६ जना सर्वसाधारण र १४ जना अस्पतालकै कर्मचारी भर्ना भएका छन् । नयाँ बिरामी भर्ना लिने अवस्था नरहेको अस्पतालले जनाएको छ ।

बिरामीको चाप अत्यधिक बढेपछि थप सातवटा आइसियू बेड थप्ने गृहकार्य सुरु भएको देवले बताएका छन् । शुक्रबार विराटनगरमा २ जना संक्रमितको मृत्यु भएपछि इमरजेन्सीमा भर्ना भएका संक्रमितलाई कोभिडमा सारेको थियो ।

विराटनगरमा प्रदेश १ सरकारले सञ्चालन गरेको कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रमा भने बेड खाली छन् । उपचार केन्द्रका प्रमुख बैजनाथ साहका अनुसार उपचार केन्द्रमा ९६ वटा बेड सञ्चालनमा रहेकोमा २८ जना बिरामी उपचाररत छन् । केन्द्रमा ६८ बेड खाली छ ।

कोभिड उपचार केन्द्रको ८० बेड रहेको सेक्सन भने ममर्तका लागि भन्दै प्रदेश सरकारले बन्द गरेको अस्पतालका संयोजक बैद्यनाथ साहले बताए । नेशनल ट्रेडिङको दुई तले भवनमा बनाएको ८० बेडको उपचार केन्द्र बन्द गरिएको छ । सबै बेडमा अस्किसनको पाइपलाइन पु¥याउन र मर्मतका लागि बन्द गरिएको हो । उपचार केन्द्रको ३१ बेडमा मात्रै अक्सिजनको पाइपलाइन छ ।
कोशी कोभिड अस्पतालमा अधिकांश अक्सिजन लेभल कम भएका बिरामी छन् । नोबेल र विराटको कोभिड उपचार केन्द्रमा पनि गम्भीर लक्षण भएका विरामीहरु नै भर्ना भएका छन् । अधिकांश विरामीको समस्या अक्सिजन लेभल कम हुनु रहेको अस्पतालहरुले बताएका छन् ।

सोमबार, २० बैशाख, २०७८, बिहानको ११:१६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर