लोड हुँदैछ...

मेनु

निषेधाज्ञामा यस्तो देखियो विराटनगर (फोटोफिचर)

निषेधाज्ञामा यस्तो देखियो विराटनगर (फोटोफिचर)

विराटनगर । कोरोना महामारी रोकथाम तथा नियन्त्रण गर्न विराटनगरमा आजदेखि एक हप्ताको लागि निषेधाज्ञा जारी भएको छ ।

निषेधाज्ञाको पहिलो दिन आइतबार विराटनगरका सडकमा चहलपहल घटेको छ । सडक क्षेत्रका पसलहरू खुलेका छैनन् भने चोकचोकमा बसेर नेपाल प्रहरी, सशस्त्र र ट्राफिक प्रहरीले कडाइ गरेका छन् ।

निषेधाज्ञा कडाइका साथ लागू गर्न विराटनगरभित्र नेपाल प्रहरी र सशस्त्र प्रहरी टोलीलाई बाक्लो रूपमा तैनाथ गरिएको छ । सडकमा गुडेका सवारी नियमन र अनुगमन र निषेधाज्ञा कडाइको साथ लागू गर्न ठूलो संख्यामा प्रहरी परिचालन गरेको मोरङ प्रहरीका प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए ।

निषेधाज्ञा पालना गराउनकै लागि विराटनगर क्षेत्रमा ८ सयको संख्यामा नेपाल प्रहरी, सशस्त्र र ट्राफिक प्रहरी खटाइएको एसपी खड्काले बताए । सडकमा चेक प्वाइन्ट, पिकेट, मोबाइल गस्ती, स्ट्राइकिङ, रिजर्भ र सादा पोसाकका सुरक्षाकर्मीलाई फरक–फरक भूमिकामा परिचालन गरिएको प्रहरीले जनाएको छ ।

प्रहरी र सशस्त्रले निषेधाज्ञा उल्लंघन गर्नेलाई नियन्त्रणमा लिने बताएको छ । अत्यावश्यक सेवा र अनुमतिबाहक बाहेकका सवारी र पैदलै मानिसको आवागमन गर्नेलाई नियन्त्रणमा लिएर प्रहरीले होल्ड गरेको छ । औषधी, खाद्यवस्तु तथा अत्यावश्यक सेवा वस्तु खरिद गर्न बाहेक हिँडडुलमा रोक लगाइएको छ । दुध, खाद्यवस्तु, खाना पकाउने ग्यास तथा तरकारी आपूर्ति प्रणाली बिहान १० बजेसम्म गरिसक्नुपर्नेछ ।

जिल्ला प्रशासन कार्यालय मोरङले कोरोना संक्रमणको दोस्रो लहरमा फैलिएपछि यसको रोकथाम र नियन्त्रणको लागि शनिबार राती १२ बजेपछि लागू हुनेगरि विराटनगर महानगरपालिकासहित बुढीगंगा गाउँपालिका, जहदा गाउँपालिका र कटहरी गाउँपालिकाको वडा नम्बर १, २, ३ र ४ मा निषेधाज्ञा आदेश जारी गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 5 seconds