विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले शनिबार राति १२ बजेदेखि लागु हुनेगरी एक साताका लागि निषेधाज्ञा घोषणा गरेको छ । कोभिड १९ को दोश्रो लहरबाट संक्रमणको जोखिम बढेकोले नियन्त्रण गर्नका लागि निषेधाज्ञाको आदेश जारी गरेको आदेशमा उल्लेख छ ।

प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जारी गरेको आदेशमा जिल्लाका बढी प्रभावित विराटनगर महानगरपालिका, बुढिगंगा गाउँपालिका, जहदा गाउँपालिका, कटहरी गाउँपालिकाका वडा नं १,२, ३, र ४ तथा भारत र सुनसरी जिल्लासंग जोडिएको सीमा क्षेत्रहरुमा निषेधाज्ञा हुने आदेशमा भनिएको छ ।

निषेधाज्ञाको अवधिमा औषधि, खाद्यवस्तु, इन्धनलगायत अत्यावश्यक वस्तु तथा सेवाहरु खरिद गर्न बाहेक घरबाट बाहिर ननिस्कन भनिएको छ । खाद्यवस्तु, खाना पकाउने इन्धन, तरकारी, डेरी सम्बन्धी पसल र निर्माण सामग्रीका पसलहरु बिहान १० बजेसम्म मात्र सञ्चालन गर्न पाइने आदेशमा उल्लेख छ ।

दैनिकरुपमा नित्य गरिने पूजा प्रार्थना बाहेक सबै धार्मिक सांस्कृतिक कार्य, मेला, चाडपर्व, हाटबजार, लगायत सामुहिक गतिविधि नगर्न पनि जिल्ला प्रशासन कार्यालय मोरङले आदेश दिएको छ ।

निषेधाज्ञाको समयमा अत्यावश्यक सेवामा प्रयोग हुने विद्युत, खानेपानी, सञ्चार, बैक, फोहोरमैला व्यवस्थापन, खाद्यान्न, पशुआहार ढुवानीका साधन, एम्बुलेन्स, शव वहान, सरकारी नम्बरका साधनहरुबाहेक अन्य सञ्चालन नगर्न भनिएको छ ।

छिमेकी मुलुक भारतसग हुने आवागमन पूर्णरुपमा बन्द गर्ने, रातिको समयमा ८ बजेदेखि विहान ५ बजेसम्म हिडडुल गर्न नपाइने, उपभोग्य वस्तुको कृतिम अभाव सिर्जना गरे कानून बमोजिम कारवाही हुने, होटल रेष्टुरेन्टहरु होम प्याक तथा होम डेलिभरी प्रयोजनका लागि मात्र खुला रहनेछन् ।

यसअघि प्रदेश १ सरकारको दबाबमा मोरङमा व्यापक संक्रमण फैलिइसक्दा पनि मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले निषेधाज्ञा जारी गर्न मानेका थिएनन् । बिहीबारसम्म उनी मोरङको अवस्था आत्तिहाल्नुपर्ने नभएको र निषेधाज्ञा समाधान नभएको बताइरहेका थिए ।

विज्ञ तथा विराटनगर महानगरपालिकाले कोरोना संक्रणको चेनब्रेक गर्न निषेधाज्ञा वा लकडाउन गर्न सुझाब दिँदै आएकोमा प्रदेश १ सरकार पनि निषेधाज्ञाको पक्षमा थिएन । संघीय सरकारले ५०० सक्रिय संक्रमित भएको जिल्लामा निषेधाज्ञा लगाउन आदेश दिएकोमा सुनसरीमा २५० संक्रमित हुँदा निषेधाज्ञा लगाउने निर्णय भएकोमा मोरङमा ११ सय बढि संक्रमित पुगिसक्दा पनि अटेर गरिरहेको प्रशासन कार्यालयमा शुक्रबार बसेको बैठकपछि निषेधाज्ञा जारी गरिएको हो ।

जिल्लास्तरीय कोभिड क्राइसिस व्यवस्थापन समितिको बैठकमा विज्ञसहित सबै सरोकारवालाले तत्काल निषेधाज्ञा नलगाए विराटनगरको अवस्था भयावह हुने चेतावनी दिएका थिए । शुक्रबार नै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गर्दै मोरङसहित १९ जिल्लामा कोरोना संक्रमणको भयावह अवस्था देखिएकोले सतर्क हुन आग्रह गरेपछि मोरङमा निषेधाज्ञा जारी भएको हो ।