माओवादीले नवनियुक्त मन्त्री आङ्बुहाङलाई सोध्यो २४ घण्टे स्पष्टीकरण

विराटनगर । पार्टी परित्याग गरि एमाले ओली समूहमा प्रवेश गरेर प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री बनेका टंक आङ्बुहाङलाई नेकपा माओवादी केन्द्रले स्पष्टीकरण सोधेको छ ।

माओवादी केन्द्र संसदीय दल प्रदेश १ को सोमबार विराटनगरमा बसेको बैठकले आङबुहाङलाई २४ घण्टा भित्रमा पार्टी परित्याग गरेको हो होइन ? स्पष्ट खुलाउन अल्टिमेटम दिएको हो ।

माओवादी केन्द्र पार्टी परित्याग गरि प्रधानमन्त्री केपी शर्मा ओली समूहको एमाले प्रवेश गरेपछि आङ्बोहाङ आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त भएका छन् । उनी यसअघि माओवादी केन्द्रका संसदीय दलका नेता थिए । ‘दलको बैठकले पार्टी परित्याग गरेका आङ्बुहाङलाई दलको नेतादेखि हटाएर २४ घण्टा भित्र स्पष्टिकरण पेश गर्न निर्देशन दिएको छ,’ माओवादी केन्द्रका प्रदेश १ का संसदीय दलका नेता इन्द्रबहादुर आङबोले भन्नुभयो, ‘दल त्याग गरेको हो वा होइन भन्ने विषयमा दलको बैठकले स्पष्टीकरण सोधिएको छ । उहाँले २४ घण्टा भित्र स्पष्टीकरण दिएपछि अन्य कारबाहीको प्रक्रिया अगाडि बढ्छ ।’

यसैबीच प्रदेश १ मा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता ईन्द्रबहादुर आङ्बो चयन भएका छन् । दलको उपनेतामा रामकुमार राई र प्रमुख सचेतकमा झलकसिंह दर्लामी तथा सचेतकमा सौभाग्यवतीदेवी राई चयन भएका छन् ।

आजको बैठकले दलको नेताकोरूपमा चयन गरेका आङ्बो यसअघि आर्थिक मामिला तथा योजना मन्त्री बनेका थिए । तत्कालीन नेकपाको प्रचण्ड–माधव पक्षबाट मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्दै आङ्बोले मन्त्रीबाट राजीनामा दिएका थिए । प्रदेश १ मा नेकपा माओवादी केन्द्रको १६ जना सांसद छन् ।

सोमबार, १६ चैत, २०७७, साँझको ०६:०७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर