विराटनगर । निर्माणाधीन हुलाकी राजमार्गको हाटखोला–रंगेली सडकखण्डमा सरकारी मापदण्डभन्दा कम क्षेत्रफलमा सडक विस्तार गर्नुपर्ने माग स्थानीयले गरेका छन् ।
स्थानीयबासी सम्मिलित हुलाकी राजमार्ग संघर्ष समिति कटहरीले मङ्गलबार कटहरी गाउँपालिकालाई ज्ञापन–पत्र बुझाउँदै यस्तो माग गरेको हो ।
कटहरी बजारको पश्चिमी सिमानाबाट मङ्गलबार दिउँसो विरोध ¥याली निकाल्दै स्थानीयले गाउँपालिकालाई ज्ञापन पत्र बुझाएका थिए । ¥यालीसहित गाउँपालिका पुगेका स्थानीयबासीको तर्फबाट हुलाकी राजमार्ग संघर्ष समितिका अध्यक्ष श्रीराम कामतले गाउँपालिका उप–प्रमुख मञ्जिता सरदारलाई सो बिषयको ज्ञापनपत्र बुझाउनुभयो ।
ज्ञापन–पत्र हस्तान्तरण गर्दै संघर्ष समितिका अध्यक्ष कामतले हुलाकी राजमार्ग विस्तार गर्दा स्थानीयको नम्बरी घरजग्गासमेत मासिने भएकाले उचित क्षतिपुर्ति उपलब्ध गराउनुपर्ने माग गर्नुभयो । सम्बन्धित बिषयमा यसअघि नै सर्वोच्च अदालतको आदेशसमेत आईसकेकाले सो आदेश कार्यान्वयनमा ढिलाई नगर्न उहाँले आग्रह गर्नुभयो ।
सरकारी मापदण्ड अनुसार सडकको बिचको केन्द्रबाट ५०÷५० फिट सडक विस्तार गर्दा कटहरी बजारका १० भन्दा बढी परिवारको उठिवास हुने अवस्था रहेको स्थानीयले बताएका छन् । सडकको बिचबाट ४०÷४० फिटको मापदण्ड कायम गरिए मात्रै ती परिवारहरु विस्थापित हुनबाट जोगिने स्थानीय राजेश जैसानीको भनाइ छ ।
हाल सो सडक खण्डमा २१ नम्बर प्याकेज अन्र्तगत सडक विस्तारको कार्य धमाधम भईरहेको छ । कटहरी बजारको पूर्वतर्फ रहेको जुडी पुल छेउबाट १८ महिना अघिबाट नै सडक विस्तारको कार्य सुुरु भईसकेको छ । कटहरीको जुडी पुलदेखि विराटनगरको अस्पताल चोकसम्मको कुल ६ किलोमिटर खण्डमा सडक निर्माण गर्ने सरकारी योजना छ ।
कटहरीका स्थानीयले भने विराटनगरको अस्पताल चोकबाटै सडक विस्तारको कार्य सुरु गर्नुपर्ने माग गर्दै आएका छन् ।

