हेटौंडा  । हेटौंडा, ९ चैत । सरकारले सोमबारबाट गैडा गणना सुरु गरेको छ । पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने मकवानपुरको मनहरी गाउँपालिका ७ रमौलीबाट गैंडा गणनाको काम सुरु भएको हो । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले सोमबार बिहान सिठ्ठी फुकेर गणनाको आरम्भ गर्नुभएको हो । चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जलाई ब्लक बनाएर गणना आरम्भ गरिएको बताइएको छ ।

राष्ट्रिय योजना आयोगका सदस्य कृष्णप्रसाद ओली, वन मन्त्रालयका सचिव डा. विश्वनाथ ओली, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तुु संरक्षण विभागका महानिर्देशक दीपक खराल, वन विभागका महानिर्देशक मनबहादुर खड्का, वन मन्त्रालयका महाशाखा प्रमुख, विभिन्न दातृ निकायका प्रमुखको सहभागिता रहेको थियो । गणना शुरु भएपछि चितवनको सौराहामा औपचारिक समारोह गरेको थियो ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार गणनामा ४० वटा हात्ती र २०० जनशक्ति परिचालन गरिएको छ । दुई निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषका हात्ती गणनामा प्रयोग गरिएका छन् । कोशीमा दरबन्दी रहेर यहाँ रहेका हात्ती र मध्यवर्ती क्षेत्रमा केही निजी हात्तीलाई पनि गणनामा प्रयोग गरिने छ । बरालका अनुसार ४० मुख्य गणक र वैकल्पिक २० जनालाई गणनामा खटाइने बताइएको छ । दुई निकुञ्जमा गैँडा गणना गर्न करिव २० दिन लाग्ने छ ।

विभागका सूचना अधिकारी इकोलोजिष्ट हरिभद्र आचार्यका अनुसार गैँडा रहेका अन्य दुई निकुञ्ज बर्दियामा चैत १७ गतेदेखि र शुक्लाफाँटामा १९ गतेदेखि गणना शुरु गरिँदै छ । आचार्यका अनुसार चैत २९ गतेसम्ममा चारवटै निकुञ्जमा गैँडा गणना सकेर वैशाख पहिलो साता नतिजा सार्वजनिक गर्ने गरी तयारी गरिएको छ । गत वर्ष चैत ११ गतेदेखि गैँडा गणना गर्ने भनिए पनि कोरोना सङ्क्रमणका कारण अन्तिम तयारी भएपछि स्थगन भएको थियो ।

नेपालमा हरेक पाँच वर्षमा गैँडा गणना गर्ने गरिएको छ । सन् २०१५ मा भएको गणनामा ६४५ वटा गैँडा भेटिएको थियो । चितवनमा ६०५, बर्दियामा २९, शुक्लाफाँटामा आठ र पर्सामा तीन वटा गैँडा भेटिएको थियो ।