लोड हुँदैछ...

मेनु

साझा नेतृत्वका लागि आग्रह

साझा नेतृत्वका लागि आग्रह

विराटनगर । नेपाल पत्रकार महासंघलाई साझा संस्थाको भावना अनुसार सञ्चाल गर्न सहमति र सहकार्यको भावनाबाट अगाडि बढाउन सर्वसम्मत नेतृत्व निर्वाचन गर्न प्रेस संगठन मोरङले आव्हान गरेको छ ।

प्रेस संगठन नेपाल मोरङको आइतबार सम्पन्न बिस्तारित बैठकले नेपाल पत्रकार महासंघको साझा चरित्रलाई कायम राख्दै त्यसको मर्म र भावनाको प्रतिनिधित्व हुनेगरी पेशागत मर्यादा र व्यवसायिक विकास गर्न सक्ने नेतृत्व सर्वसम्मत चयन गर्नु उपयुक्त हुने निर्णय गरेको हो । बैठकले सबै विचार, क्षेत्र र समुदायको साझा संगठनको रुपमा महासंघलाई अघि बढाउन पनि भनेको छ ।

प्रेस संगठन मोरङका संयोजक ध्रुब भट्टराईको अध्यक्षता र संगठनका केन्द्रीय कार्यालय सदस्य विवेक गौतमको प्रमुख आतिथ्यतामा बसेको बैठकले पत्रकार महासंघका आसन्न सबै तह र समितिका निर्वाचनहरुमा संगठनको तर्फबाट प्रभावकारी प्रतिनिधित्व गराउन संगठनलाई एकतावद्ध बनाई परिचालन गर्ने निर्णय पनि गरेको आइतबार जारी विज्ञप्तिमा उल्लेख छ ।

बैठकले नेपाल पत्रकार महासंघ मोरङ शाखाको निर्वाचन परिचालन गर्न पत्रकार गणेश लम्साल, भक्तशेर लिम्बु, बन्धु पोखरेल, विनोद घिमिरे, गोकुल पराजुली र ध्रुब भट्टराई सम्मिलित निर्वाचन परिचालन समिति गठन गरेको छ । सो समितिले अन्य संघ संगठनहरुसँग वार्ता र छलफल गर्ने, उमेदवार छनौट गर्ने र निर्वाचन सम्बन्धी तयारीको काम अगाडि बढाउने बताइएको छ ।

नेपाल पत्रकार महासंघको निर्वाचन चैत २५ गते देशभर एकैपटक जिल्ला, प्रदेश र केन्द्रीय समितिको हुँदैछ । प्रत्यक्ष निर्वाचन प्रणालीबाट पहिलो पटक हुन लागेको निर्वाचनको तयारीमा संगठनहरु जुटेका छन् । मोरङ जिल्लामा सात पदाधिकारी सहित १५ सदस्यीय जिल्ला कार्यसमिति, पाँच जना राष्ट्रिय परिषद् सदस्य र १४ जना प्रदेश परिषद् सदस्य निर्वाचित हुने छन् । प्रदेश कमिटी र केन्द्रीय कमिटीका पदाधिकारी र सदस्यहरुलाई पनि हरेक साधारण सदस्यहरुले मतदान गर्नेछन् ।

 

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 5 seconds