विराटनगर । विराटनगरका युवाहरुले नेपालमा बढ्दै गएको वातावरण प्रदुषण रोक्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

शुक्रबार विराटनगरको महेन्द्र मोेरङ क्याम्पसबाट बृहत र्‍याली निकाल्दै ‘युथ अफ क्लाइमेटिक एक्शन’ संस्थाका युवाहरुले सरकारको ध्यानाकर्षण गराएका हुन् । उनीहरुले विश्वव्यापी रुपमा बढदै गएको वातावरण प्रदुषणले मानव स्वास्थ्यमा पनि नकारात्मक असर पुर्‍याईरहेको भन्दै सम्बन्धित निकायले यस बिषयमा ठोस कदम चाल्नुपर्ने बताएका छन् ।

र्‍यालीका क्रममा युवाहरुले हामी विकास विरोधी होइनौं, विनाश विरोधी हौं, हरियो वन कसको धन ?, रुख बचाऔं, संसार जोगाऔं र निजगढमा उडे प्लेन, खोई त हात्ती हिँडने ल्याण्ड लगायतका नारा समेत घन्काएका थिए । र्‍याली विराटनगरको रोडशेष चौक, भुमि प्रशासन चौक हुँदै ट्राफिक चौक पुगेर ‘ग्लोबल क्लाइमेट स्ट्राईक मार्च’ को रुपमा परिणत भएको थियो ।

स्ट्राईक मार्चलाई सम्बोधन गर्दै युवाहरुले प्रदेश नं. २ मा निर्माणाधिन निजगढ अन्तराष्ट्रिय विमानस्थलको कार्यलाई पनि रोक लगाउन माग गरेका छन् । विमानस्थल निमार्णको कार्यले निरन्तरता पाउँदा यसले वातावरणमा नकारात्मक असर पुर्‍याउने आयोजक संस्थाकी प्रदेश नं. १ संयोजक पुजा विश्वासले बताउनुभयो ।

विमानस्थलको निमार्ण कार्यले निरन्तरता पाउँदा यसक्षेत्रमा प्राकृतिक पद्धतिबाट हुर्‍काईएका वनजंगल फँडानी गर्नुपर्ने अवस्था आउँछ, उहाँले भन्नुभयो, करिब २४ लाख बोटबिरुवाहरु मासिन्छन, पशुपन्क्षीहरु पनि आवास विहिन हुन्छन् ।

जलवायु परिवर्तन अहिले विश्वमा ठूलो समस्याको रुपमा उदय भएकाले वातावरण संरक्षणको बिषयमा सरकार पनि गम्भीर बन्नुपर्ने युवाहरुको माग छ । अन्यथा जलवायु परिवर्तनसँगै मानव अस्तित्व पनि समाप्त हुँदै जाने युवाहरुको ठहर छ ।