इटहरी । सुनसरीमा ५० हजार ९ सय ५९ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । स्वास्थ्य कार्यालय सुनसरीले दिएको जानकारी अनुसार सुनसरीमा प्राप्त ५४ हजार ५० डोजमध्ये ५० हजार ९ सय ५९ डोज खर्च भएको छ ।
स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईँका अनुसार पहिलो चरणको खोप अभियान माघ १४–२३ गते सम्म अग्रपंक्तिमा खटेका स्वास्थ्यकर्मीलगायत ५ हजार २८ जना र दोस्रो चरणको खोप अभियान अन्तर्गत फागुन २–१० गतेसम्म ४ हजार ३ सय ११ जनाले खोप लगाएका छन् । दोस्रो चरणको ५५ वर्षदेखि माथिकाहरुलाई लक्षित गरी फागुन २३ देखि चैत्र ४ गतेसम्मको खोप अभियानमा ४१ हजार ६ सय २० जनाले खोव लगाएका छन् ।
जिल्लामा खोप लगाउनेको लक्षित संख्या १ लाख २० हजार ९ सय ३६ रहेको थियो । कोरोना विरुद्धको खोप अभियान अन्तर्गत दोस्रो चरणको भर्खरै सम्पन्न भएको अभियानमा रामधुनी नगरपालिकामा ६१.७ प्रतिशतले खोप लगाएका छन् भने दुहबी नगरपालिकामा ६१.७ प्रतिशत, इटहरी उपमहानगरपालिकामा ३२.३ प्रतिशत र धरान उपमहानगरपालिकामा ३७.४ प्रतिशतले खोप लगाएका छन् ।
कोरोना विरुद्धको खोप अभियानमा पहिले–पहिले कमैले मात्रै खोप लगाएको भएपनि पछिल्लो समयमा भने खोप लगाउनेको संख्या उत्साहजनक भएको स्वास्थ्य कार्यालय प्रमुख प्रसाईँले बताउनुभयो ।