विराटनगर । स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्ने लक्ष्यका साथ विराटनगरमा आउँदो चैत्र ५ गतेदेखि ‘विराट जुत्ता चप्पल व्यापार मेला २०७७’ को आयोजना हुने भएको छ ।
फुटवेयर म्यानुफ्याक्चर्स एशोसिएशन अफ नेपालको आयोजना चैत्र ५ देखि वैशाख ५ गतेसम्म व्यापार मेला हुने भएको हो ।
विगत ३ वर्षदेखि हुँदै आएको व्यापार मेलालाई आयोजकले यस वर्ष पनि निरन्तरता प्रदान गरेको हो । कोरोना महामारीका कारण बढ्दै गएको व्यापार घाटालाई न्युनीकरण गर्न तथा आर्थिक समृद्धि हाँसिल गर्नमा सहयोग पु¥याउन व्यापार मेलाको आयोजना गर्न लागिएको आयोजक संस्थाका अध्यक्ष पुर्व अध्यक्ष तथा व्यापार मेलाका संयोजक होमनाथ उपाध्यायले बताउनुभयो ।
मेलामा १५ भन्दा बढी नेपाली ब्राण्डका जुत्ता चप्पलहरुको खरिद बिक्री हुने बताइएको छ । मेलालाई दैनिक २० हजार बढी उपभोक्ताहरुले अवलोकन गर्ने आयोजकले जनाएको छ ।
मेलामा बि.एफ डियर हिल, शिखर, कोशेली, क्रसरोड, ब्याम्बु, रोयल, फस्टवक, सु–ल्याण्ड, रन, स्मार्ट, म्याजिक र हाईलाईफ ब्राण्डका ५ हजार बढी मोडेलका जुत्ता चप्पलहरुको खरिद बिक्री हुने आयोजकको दाबी छ ।
मेलामा १२ वटा स्वदेशी कम्पनीहरुले उत्पादन गरेका २० ब्राण्डका जुत्ताचप्पलहरु १० देखि ५० प्रतिशत छुटमा खरिद गर्न सकिने व्यापार मेलाका संयोजक उपाध्यायले बताउनुभयो । उहाँले मेलामा १ सयदेखि १० हजार मूल्यसम्मका जुत्ताचप्पलहरुको खरिद बिक्री हुने लक्ष्य राखिएको जानकारी दिनुभयो ।
मेलामा अनुमानित २५ हजार जोर जुत्ताचप्पलको खरिद बिक्री हुने आयोजक संस्थाको अपेक्षा छ । बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म चल्ने मेलाको आयोजना विराटनगरको रङ्गेली रोडस्थित नेपाल बङ्गलादेश बैंकको उत्तरपट्टीको खाली संरचनामा हुनेछ ।
स्वदेशी उत्पादनको प्रचारप्रसार र प्रर्वद्धनका लागि विगतका समयमा पनि पोखरा, बुटवल, काठमाडौं र हेटौंडा जस्ता नेपालका प्रमुख शहरहरुमा जुत्ता चप्पल व्यापार मेलाको आयोजना हुँदै आएको छ । फुटवेयरकै क्षेत्रमा करिब ३२ अर्ब बराबरको लगानी रहेको नेपालमा ९ करोड जोडी जुत्ताचप्पल आन्तरिक बजारको माग हो ।
अहिले करिब ६३ प्रतिशत जुत्ता चप्पलहरुको आपुर्ति आन्तरिक उत्पादनबाटै भएको उद्योगीहरुले बताएका छन् । हाल यस क्षेत्रका उद्योगहरुमा करिब ५५ हजार मजदुरहरुले रोजगारी पाएका छन् भने एकतिहाई महिलाहरु प्रत्यक्ष रुपमा कार्यरत छन् ।