विराटनगर । सिन्धुपाल्चोक घर भएका महिलालाई विराटनगर हुँदै सीमा नाका कटाएर भारततर्फ लैजान खोज्दै गर्दा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
विराटनगर महानगरपालिका–१६ का ३४ वर्षीय काजी तामाङ र ५० वर्षीय प्रेमबहादुर मगरलाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुलाई विराटनगर–१६ दक्षिण गेटबाट नियन्त्रणमा लिइएको हो । दुबै जनाविरुद्ध मानव बेचबिखन मुद्दा चलाउन अदालतबाट आइतबार म्याद थप गरेर बाँकी अनुसन्धान अघि बढाइएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले जानकारी दिनुभयो ।
राम्रो कमाईको प्रलोभन दिएर काममा लगाइदिने बहानामा महिलालाई झुक्याएर भारततिर लैजान लागेको पाइएपछि तामाङ र मगरलाई पक्राउ गरिएको हो । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ का २३ र ३१ वर्षीया दुई महिलालाई पनि प्रहरीले नेपाल–भारत सीमा क्षेत्रबाट उद्धार गरेको थियो ।
तामाङ थरका दुबै जना जना महिलाले भारतमा लगेर धेरै पैसा कमाई हुने राम्रो काममा लगाइदिने भन्दै आफूहरुलाई काठमाडौंदेखि बस चढाएर विराटनगर ल्याइएको बताएका छन् । बसको टिकट काट्दा पैसा पनि अर्कैले तिरिदिएको उनीहरुले बताएका छन् ।
पारिवारिक आर्थिक अवस्था कमजोर रहेको कारण दुबै महिला लामो समयदेखि कामको खोजीमा रहेकोले प्रलोभन देखाउँदै विराटनगर ल्याइएको खुलेको मोरङ प्रहरीले जनाएको छ । दुबै जना काठमाडौंबाट बस चढेर फागुन २० गते विराटनगर आएका थिए ।
उनीहरुलाई बसपार्क पुगेर काजीले सिटी सफारी चढाएर लैजाँदै होटलमा रातभर राखेर भोलिपल्ट अर्थात २१ गते भारत पु¥याउन खोजेको पाइएको छ । महिलाहरुलाई भारततर्फ लैजान काजीले प्रेमबहादुरको सहयोग मागेको खुलेको छ । महिलाले भने काठमाडौंबाट बसमा चढाइदिने र विराटनगर बसपार्कमा लिन आउने कसैलाई पनि आफूहरुले नचिनेको बताएका छन् ।
काठमाडौंमा काजीको सम्पर्कमा रहेर महिलालाई विराटनगर पठाउने व्यक्तिको पहिचान खुल्न बाँकी रहेको र खोजी थालिएको प्रहरीको भनाइ छ । विराटनगरबाट भारतको जोगवनी पस्ने मुख्य नाका रानीदेखि लगभग एक किलोमिटर उत्तरतर्फबाट अवैध एवं चोर बाटोको प्रयोग गर्दै महिलालाई भारत लैजान लाग्दा प्रहरीले उद्धार गरेको थियो ।
प्रहरीले बेचबिखनकै लागि महिलालाई लगिएको हुनसक्ने देखिएकाले गम्भीर ढंगले अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।