होटल नमस्कार नयाँ स्वरूपमा सञ्चालन हुने

विराटनगर । कोभिड–१९ को महामारीका कारण बन्द भएको विराटनगरको पुरानो होटल ‘नमस्कार’ नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आउने भएको छ ।

विराटनगरकै पुरानो होटल नमस्कार ‘नमस्कार रिजेन्सी’का नामले सञ्चालनमा आउने भएको हो । विराटनगरकै होटल मुनका सञ्चालक विजय प्रसाईंले होटल सञ्चालन गर्ने भएका हुन् । १५ वर्षका लागि लिजमा लिएर होटल सञ्चालन गर्न अहिले भवनको जीर्णाेद्धार र मर्मतको काम भइरहेको छ ।

राजकुमार श्रेष्ठले २०३७ सालमा स्थापना गरेको होटल नमस्कार सञ्चालन गरेका थिए । २०४४ मा उनको निधन भएपछि छोराहरु युवराज र राजनले होटललाई निरन्तरता दिएकोमा राजनले २०५१ मा विराटनगरकै रोडशेषमा होटल स्वागतम खोलेपछि युवराजले नै नमस्कार सञ्चालन गरिरहेकोमा २०६९ मा उनको निधन भएपछि छोरा युनेशले सञ्चालन गरिरहेको होटल कोरोना महामारीको समयमा बन्द भएको थियो ।

होटल नमस्कारमै कुनै समय जागिरे रहेका बिजयले २०५३ सालमा रोडशेष चोकमा सञ्चालनमा आएको मुन होटलमा मेनेजर बनेका थिए । उनले २०५७ देखि होटल मुन ठेक्कामा लिएर सञ्चालन गरिरहेका छन् ।

आपूmले पहिलो जागिर खाएको होटल नमस्कार बन्द भएको खबरपछि सञ्चालनको पहल गरेको बिजयको भनाइ छ । १८ कट्ठा जमिनमा रहेको होटल नमस्कारको २ कट्ठा ४ धुर क्षेत्रफलमा होटलको मुख्य भवन छ ।

होटलमा अट्याच बाथ भएका ३६ वटा कोठा छन् । ८० जना पाहुना सजिलै अटाउन सक्ने बताइएको छ । होटललाई नयाँ स्वरुपमा सञ्चालन गर्ने विजयको तयारी छ । एअर कन्डिसन, पलङ, टेबुलकुर्सी, म्याट्रेस, ऐना, टेलिभिजनलगायतका सबै फर्निचर नयाँ हुनेछन् ।

होटलको भान्सालाई पनि मोड्युलर कमर्सियल किचनको स्वरूप दिएर अत्याधुनिक शैलीको बनाउने काम भइरहेको छ । प्रसाईंका अनुसार होटलको जीर्णाेद्वार, मर्मतमा १ करोड २५ लाखभन्दा बढी लाग्नेछ । छिटोमा वैशाख र ढिलोमा असारदेखि होटलको सञ्चालन सुरु हुने प्रसाईको भनाइ छ ।

मङ्गलबार, २५ फागुन, २०७७, बिहानको ०९:४४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर