विराटनगर । विराटनगरस्थित महेन्द्र मोरङ आर्दश बहुमुखी क्याम्पसको परीक्षा शाखाबाटै माइक्रो बायोलोजी तेश्रो वर्षको प्रश्नपत्रको बण्डल गायब भएको छ ।
प्रश्नपत्रको बण्डल शुक्रबार नै गायब भएपनि क्याम्पस प्रशासन र विद्यार्थी संगठनहरुले शनिबार बेलुका मात्र थाहा पाएका हुन । परीक्षा शाखाबाटै प्रश्नपत्र गायब भएको सुचना भने आईतबार दिउँसो मात्रै सार्वजनिक भएको हो ।
आईतबार अधिकांश विद्यार्थीहरुले प्रश्नपत्र चोेरेरै कुल ५० पूर्णांकको परीक्षा दिएका छन् । क्याम्पस प्रशासनको लापरबाहीले प्रश्नपत्र गायब भएको विद्यार्थी संगठनहरुको आरोप छ । परीक्षा अधिकृत हरि तिम्सिना, सहायक केन्द्राध्यक्ष सुशील अधिकारी र केन्द्राध्यक्ष तथा क्याम्पस प्रमुख बाबुराम तिम्सिनाको मिलेमत्तोमा प्रश्नपत्र गायब गरिएको समाज विद्यार्थी युनियनका विद्यार्थी नेता साहिल झाको दाबी छ ।
विद्यार्थी संगठनहरुले क्याम्पसप्रति आक्रोश व्यक्त गर्दै उक्त गतिविधिमा संलग्नलाई नैतिकताको आधारमा राजिनामा दिनुपर्ने माग गरेका छन् । केहीदिन अगावै पनि बि.बि.एस तेश्रो वर्षमा अध्ययनरत एक विद्यार्थीले परीक्षा कोठाबाटै सेल्फी खिचेर सामाजिक सञ्जालमा अपलोड समेत गरेका थिए ।
वार्षिक परीक्षा जस्तो संवेदनशील बिषयको गोप्यता भंग हुँदा पनि क्याम्पसले उक्त बिषयमा कुनै ठोस कदम चालेको थिएन ।