विद्युत आयोजनाको सुरुङ खन्ने क्रममा दुईको मृत्यु

विराटनगर । ताप्लेजुङमा निर्माणधिन मध्यतमोर जलविद्युत आयोजनाको सुरुङ खन्ने क्रममा दुई जना मजदुरको मृत्यु भएको छ ।

मिक्वाखोला गाउँपालिका २ खोक्लिङको थुम्वाबाट फक्ताङलुङ गाउँपालिका १ सावादिनतर्फ जाने सुरुङ खन्ने क्रममा ढुंगाले लागेर शनिबार दिउँसो दुई मजदुरको मृत्यु भएको हो ।

दुर्घटनामा उदयपुर घर भएका २२ वर्षीय अमर विश्वकर्मा र भोजपुरका २८ वर्षीय सन्तोष बानियाँको मृत्यु भएको १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । सुरुङ खन्ने क्रममा माथिबाट झरेको ढुंगाले लागेर उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनीहरु दुबैको शव बाहिर निकालिएको छ । सुरुङभित्र पसेका अन्य कामदार भने सकुशल छन् । ७३ मेगावाट क्षमताको आयोजनाको निर्माण २०७४ सालमा सुरु भएको हो । आयोजनाको सुरुङमार्ग ३ हजार ३ सय ६७ मिटर निर्माणको हुनेछ ।

आयोजनाको आउटलेट टर्नेलबाट हेडबक्सतर्फ १३ सय ९७ मिटर सुरुङ निर्माण भएको छ । सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेड कम्पनीले आयोजना निर्माणको जिम्मा पाएको छ ।

शनिबार, २२ फागुन, २०७७, साँझको ०६:०७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर