सुखानीका सहिदको परिवारलाई नेकपा ओली समूहको उपहार

ओलीको विरोध गर्ने सहिदपुत्री सहिद प्रतिष्ठानबाट आउट

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी ओली समूहले सहिद सप्ताहको अन्तिम दिन झापाको सालबारीमा स्मृति सभा आयोजना ग¥यो । झापा आन्दोलनको क्रममा पक्राउ परेका ५ जनालाई पञ्चायती शासकद्वारा जेल सार्ने बहानामा सुखानीमा २०२९ फागुन २१ गते हत्या भएको दिनको स्मृतिमा कार्यक्रम गर्दै नेताहरुले सहिदको सपनाप्रति प्रतिबद्धता जनाए ।

सुखानीमा हत्या गरिएका सहिदहरुप्रति सम्मान व्यक्त धेरै सत्तारुढ नेताहरुले गर्दै सामाजिक सञ्जालमा पनि लेखे । सहिदहरुप्रति ओठेभक्ति राख्ने नेकपा ओली समूहकै बर्चश्व रहेको झापाको सुखानी सहिद स्मृति प्रतिष्ठानबाट प्रधानमन्त्री केपी शर्मा ओलीको विरोध गरेकै भन्दै सहिदपुत्रीलाई हटाएको पाइएको छ ।

प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमको विपक्षमा मत राखेको भन्दै सुखानीका सहिद नेत्र घिमिरेकी छोरी दिव्या घिमिरेलाई सुखानी सहिद स्मृति प्रतिष्ठानबाट हटाइएको हो । नेताहरुकै आग्रहमा सहिद परिवारको प्रतिनिधित्व गर्दै प्रतिष्ठानको कार्यसमितमा बसेकी घिमिरेलाई ओलीको कदमको विरोध गरेपछि हटाइएको हो ।

संसद् विघटनको विपक्षमा उभिएकै कारण आफूलाई प्रतिष्ठानबाट हटाइएको दिब्याको भनाइ छ । ‘पहिले सहिद परिवारबाट तपाइँ बसिदिनु प¥यो भन्दै खोजी–खोजी आएर मलाई प्रतिष्ठानको समितिमा राखियो’, घिमिरेले भन्नुभयो, ‘यसपटक प्रधानमन्त्रीको कदमको समर्थन गरिनँ । मलाई समितिबाटै हटाइएछ ।’

झापा आन्दोलनका पाँच सहिद रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी , नारायण श्रेष्ठ र कृष्ण कुइँकेलको सम्झनामा स्थापना भएको सुखानी सहिद स्मृति प्रतिष्ठानको नेतृत्वमा नेकपा ओली समूहका प्रदेश अध्यक्ष देवराज घिमिरे हुनुहुन्छ । झापामा रहेको सुखानी पार्क, सालबारी पार्क निर्माण र रेखदेख गर्ने, पुनःनिर्माण गर्ने, कछुवा संरक्षण केन्द्र चलाउने तथा समुदायमा आधारित कार्यक्रमहरु यो प्रतिष्ठानले गर्दै आएको छ ।

गएको माघ पहिलो साता समिति पुनःगठन भन्दै दिव्यालाई समितिबाट हटाइएको हो । झापाको अनारमनी बस्ने घिमिरेकी पत्नी जीवन घिमिरे र छोरी दिव्यालगायत सक्रिय राजनीतिमै हुनुहुन्छ । दिव्या काठमाडौं क्षेत्र नम्बर २ मा नेकपाको प्रचण्ड–नेपाल समूहकी नेतृ हुनुहुन्छ ।

फागुन २१ मा हरेक वर्ष झापाको सुखानीमा सहिद स्मृति कार्यक्रम मनाउने गरिएको छ । यसपटक नेकपा विभाजित भएका कारण पार्टीका दुबै समूहले अलग–अलग कार्यक्रम गरेका थिए । ओली समूहले सालबारीमा र प्रचण्ड नेपाल समूहले सुखानीमा कार्यक्रम गरेका थिए ।

सुखानीको कार्यक्रममा बोल्दै सहिदपुत्री दिव्याले आफूलाई समितिबाट हटाएर ओली समूहले सहिद परिवारको अपमान गरेको बताउनुभयो । ओली समूहको कार्यक्रममा आफ्नो परिवार, रामनाथ दाहालको परिवारलाई नबोलाइएको उहाँको भनाइ छ ।

सुखानी सहिद स्मृति प्रतिष्ठानका उपाध्यक्ष टंक भट्टराईले भने सालबारीमा आयोजना भएको कार्यक्रमको आयोजक प्रतिष्ठान नभएकोले कसलाई बोलाउने नबोलाउने आयोजककै जिम्मा हुने बताउनुभयो । सहिद पुत्री दिव्यालाई प्रतिष्ठानबाट नहटाएको दावी गर्दै उहाँले पुस ११ गते साधारणसभा हुँदा परिवारमा कोरोना भएकोले उहाँ आउन नसकेको र नयाँ समिति बन्दा नपरेको जिकिर गर्नुभयो ।

दिव्याले परिवारमा कोरोना लागेर आउन नपाउने जानकारी गराएको भने भट्टराईले स्वीकार गर्नुभएको छ । सहिद पुत्रीलाई प्रतिष्ठानबाट हटाउनको कारणबारे उहाँले प्रतिष्ठानमा केही सदस्य मनोनयन गर्न बाँकी रहेकोले उहाँ समितिमा पर्नसक्ने बताउनुभएको छ । सहिद पुत्री दिव्याले ‘अलि बढी भावनात्मक कुरा गरेको’ उहाँको भनाइ छ ।

२०२८ सालमा सुरु भएको झापा आन्दोलन नेपालमा कम्युनिष्ट आन्दोलनको उत्कर्ष घटनाका रुपमा लिइन्छ । सोही आन्दोलनमा सहभागी भएवापत ५ जनालाई पञ्चायत सरकारले इलाम जेलमा सरुवा गर्ने भन्दै सुखानीमा लगेर हत्या गरेको थियो ।

शनिबार, २२ फागुन, २०७७, दिउँसोको ०३:४१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर