विराटनगर । विराटनगरस्थित कोशी अस्पतालमा सेवाग्राहीको सहजताको लागि टोकन प्रणाली लागू भएको छ । अस्पताल परिसरभित्र बिहीबार एक कार्यक्रम आयोजना गरि टोकन प्रणाली सुरु गरिएको हो ।
अस्पतालमा स्वास्थ्य बीमाको कार्यक्रम सुरु भएपछि सेवाग्राहीको चाप बढेको छ । अस्पताल आउने सेवारीको व्यवस्थापन गर्न ओपीडिमा टोकन प्रणाली सुरु गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.चुमनलाल दासले जानकारी दिनुभयो ।
‘ओपीडीमा चिकित्सकलाई देखाउन पुर्जी काट्नेको भिडभाड हुने गरेको थियो,’ डा.दासले भन्नुभयो, ‘टोकन प्रणाली लागू भएपछि अस्पताल आउने सेवाग्रीहीलाई अब घण्टौंसम्म लाइनमा बसेर सास्ती हुने छैन ।’ कोरोना संक्रमणबाट बच्न र लाइनमा बस्नुपर्ने समस्याबाट मुक्त गराउन टोकन प्रणाली लागू गराएको जानकारी दिँदै मेसु दासले अन्य विभागमा पनि टोकन प्रणाली बिस्तार गर्ने लक्ष्य रहेको बताउनुभयो ।
टोकन सिस्टमलाई प्रभावकारी बनाउन कार्यालयका कर्मचारीहरुसमेत सहजीकरणमा खटिनेछन् । कोशी अस्पतालमा दैनिक ९ सय देखि १ हजार जना सेवाग्राहीले ओपीडीमा स्वास्थ्य सेवा लिने गरेको अस्पतालले जनाएको छ ।