विराटनगर । विराटनगरस्थित कोशी अस्पतालमा थप सेवा विस्तार गरिएको छ । अस्पताललमा न्यूरो सर्जरी र आँखाको थप सेवा विस्तार गरेको हो ।
अस्पतालले अत्याधुनिक उपकरण जडान गरि न्यूरो सर्जरी र आँखा सम्बन्धी सेवाहरू सञ्चालनमा ल्याएको अस्पतालका सुपरिटेन्टेण्ड डा.चुमनलाल दासले जानकारी दिनुभयो ।
न्यूरो सर्जरी सम्बन्धी उपचार न्यूरो सर्जन डा.रोशन खतिवडाको टिमले गर्ने गरेको छ । आँखा सम्बन्धीको उपचार अस्पतालका नेत्ररोग विशेषज्ञ डा. अबिनास झाले गर्दै आउनुभएको छ । ‘अहिले आँखा सम्बन्धी सेवाको ओपीडी सुचारू भएको छ,’ मेसु दासले भन्नुभयो, ‘प्रराम्भिक चरणमा हप्तामा एक पटक आँखा सम्बन्धी समस्याको शल्यक्रिया हुनेछ भने अन्य दिन ओपीडी सेवा सञ्चालन हुनेछ ।
तत्काल अहिले माइनर सर्जरी हुने गरेको अस्पतालले जनाएको छ । थप इकुप्मेन्ट र जनशक्ति भएपछि अस्पतालले मोतियाबिन्दुलगायतका आँखाको सम्पूर्ण उपचार हुने मेसु दासले बताउनुभयो ।
केही दिन अगाडि आँखाको सेवा सुचारु गरेको अस्पतालमा एक दर्जन बढी विरामीको आँखाको शल्यक्रिय भइसकेको छ ।
अस्तापलमा ‘हिस्टो प्याथालोजी’ को पनि जाँच हुने गरेको छ । क्यान्सरको सेवा सुचारु गरेपछि उक्त परिक्षण सुरु गरिएको हो । क्यान्सर भए÷नभएको पत्ता लगाउन मासुको जाँच गरिने हिस्टो प्याथोलोजी जाँच पनि कोशी अस्पतालमा हुने गरेको मेसु दासले बताउनुभयो ।
‘यसअघि हिस्टो प्याथोलोजीको जाँच हुने गरेको थिएन,’ उनले भने, ‘केही दिनयतादेखि हिस्टो प्याथालोजीको जाँच सुरु गरिएको हो ।’ अस्पतालले बिरामीहरुमा क्यान्सर भए/नभएको यकिन गर्नका लागि गरिने हिस्टो प्याथोलोजी एक्जाम्नेसन अर्थात बायस्पी परीक्षण सेवा केही दिन अगाडि सुरु गरेको जनाएको छ ।
क्यान्सरका शंकास्पद बिरामीहरुको बायस्पी परीक्षणका लागि अन्यन्त्र अस्पतालमा पठाउनुपर्ने बाध्यता अब अन्त्य भएको छ । अस्पतालले अर्थोपेडिक सर्जरी, जनरल सर्जरी, प्रसूति, नाक, कान, घाँटीलगायतका विभागलाई समेत थप प्रविधिमैत्री बनाउँदै लगेको जनाएको छ ।
३ सय ५० शय्याको अस्पतालमा १८ विभाग, १०० भन्दा बढी विशेषज्ञ चिकित्सक, एक सय ४० नर्स, लगभग ६० स्वास्थ्यकर्मी र तीनसय भन्दा बढी प्रशासनिक (अप्राविधिक) कर्मचारी कार्यरत छन् ।