विप्लव समूहका नेतालाई पक्राउ नगर्न निर्देशन

काठमाडौं । लामो समयको प्रयास पछि वार्तामा बस्न तयार भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विप्लव समूहका नेता तथा कार्यकर्तालाई पक्राउ नगर्न सरकारले निर्देशन गरेको छ ।

वार्ताबाटै समस्याको समाधान हुनसक्ने तर्फ दुवैपक्ष तयार देखिएको अवस्थामा सरकारको यस्तो निर्देशन आएको हो । हिंजो मात्रै सरकार र विप्लव समूहको वार्ता टोलीबीच दुई चरणमा छलफल भएको थियो ।

सरकारले २०७५ साल फागुन २८ गतेदेखि विप्लव समूहलाई प्रतिबन्ध लगाएको थियो । त्यसयता विप्लवका कार्यकर्तालाई जहाँ भेट्यो, त्यही पक्राउ गर्ने नीति सरकारले अख्तियार गरेको थियो ।

तर, वर्तमान सरकार संकटमा परेसँगै सरकारी पक्षबाटै विप्लव समूहसँग वार्ताको प्रयास गरेको थियो । गत मंगलबारमात्रै सरकारले गृहमन्त्री रामबहादुर थापा बादल र प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईको नेतृत्वमा वार्ता समिति बनाएको थियो भने विप्लव समूहले पनि पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को नेतृत्वमा केन्द्रीय सदस्य उदयबहादुर चलाउने ‘दीपक’ सदस्य रहेको वार्ता समिति निर्माण गरेको सार्वजनिक गरेको थियो ।

बिहिबार, २० फागुन, २०७७, बिहानको १०:०३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर