विराटनगर । कवि लक्ष्मीप्रसाद रिजालद्वारा लिखित ‘फूलबारी’ कवितासंग्रहको आइतबार विराटनगरमा विमोचन गरिएको छ ।
पूर्वाञ्चल साहित्य प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथिसमेत रहनुभएका प्राध्यापक कविराज, वरिष्ठ साहित्यकार दधिराज सुवेदी, प्रतिष्ठानका अध्यक्षसमेत रहनुभएका प्राज्ञ विवश पोखरेल, चेतना संरक्षण प्रतिष्ठानकी अध्यक्ष प्राज्ञ गंगा सुवेदी र अग्रज साहित्यकार बलराम पोखरेलले संयुक्त रुपमा संग्रहको विमोचन गर्नुभएको थियो ।
कार्यक्रममा समालोचक प्राध्यापक भूषण ढुंगेलले विमोचित कवितासंग्रहभित्र प्रेम, विद्रोह, सामाजिक विकृति, विसंगतिलगायतका विषयलाई समेटिएको बताउनुभयो । उहाँले वृद्ध उमेरमा पनि कवि रिजालमा युवा चेत सशक्त रुपमा प्रस्तुत भएको उल्लेख गर्नुभयो ।
पूर्वाञ्चल साहित्य प्रतिष्ठानले प्रकाशित गरेको विमोचित कृतिमा ४९ वटा फुटकर कविता संग्रहित छन् । कार्यक्रममा कवि भरत गुरागाईं ‘बर्बरिक’ र मीनकुमार नवोदितले विमोचित कृतिभित्रका कविता वाचन गर्नुभएको थियो ।
समारोहमा वरिष्ठ साहित्यकार दधिराज सुवेदी, प्राध्यापक कविराज न्यौपाने, प्राज्ञ विवश पोखरेल, गंगा सुवेदी, साहित्यकार दिङ्लाली कान्छो, समाजसेवी इन्दिरा रिजाललगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।