विराटनगर । कोरोना महामारीका कारण लामो समयदेखि बन्द रहेका नाटकघरहरु धमाधम खुल्न थालेका छन् ।
गत वर्षको चैतदेखि बन्द रहेका नाटकघरहरुमा नाटक मञ्चन गर्दै औपचारिक रुपमा खुला भएको घोषणा गरिँदैछ ।
आरोहण गुरुकुल विराटनगरमा माघ ९ गते शुक्रबारदेखि नाटक ‘सन्ध्या’ मञ्चन हुने भएको छ । सुशीला कोइराला नाटकघरमा माघ १३ गतेसम्म दैनिक दिउँसो ३ बजे नाटक मञ्चन हुनेछ । धीरज राईको लेखन तथा दिपेश भण्डारीको निर्देशनमा तयार उक्त नाटक २ वर्षअघि पनि मञ्चन गरिएको थियो ।
नाटकमा विकास पराजुली, सविन भट्टराई, जिना कार्की, अनुपमा बास्तोला, प्रदीप दाहाल, मिलन राई, अशोक गौतमले अभिनय गरेका छन् । सरकारले निर्धारण गरेका स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै नाटकघर खोल्ने निर्णयमा पुगिएको आरोहण, विराटनगरका अध्यक्ष भैरव क्षेत्रीले बताउनुभयो ।
‘माघ ५ गतेदेखि नै नाटकघर खुला भएको थिउो । तर अहिले मात्र नाटक मञ्चन हुन लागेको हो । लकडाउन अन्त्य भएको लामो समयपछि मात्र नाटकघरहरु खुल्न थालेका हुन् । देशभरका नाटकघरहरु श्रृङ्खलाबद्ध रुपमा खोल्ने योजनाअनुसार माघ १ गतेदेखि काठमाडौं लगायत अन्य स्थानका नाटकघरहरु खुल्न थालिसकेका छन् ।
विगत १० महिना बढि समयदेखि ठप्प रहेको रंगमञ्च क्षेत्र खुला भएसँगै जोखिम कम गर्दै नियमित रुपमा नाटक मञ्चन गर्ने तयारीमा रंगकर्मीहरु लागेका छन् ।