विराटनगर । प्रदेश १ को हिउँदे अधिवेशनको पहिलो बैठक ३ मिनेट पनि नबसी स्थगित भएको छ । संसदको अर्को बैठक कहिले बस्ने भन्ने पनि टुंगो लागेन । सभामखु प्रदीपकुमार भण्डारीले संसदको सातौं तथा हिउँदे अधिवेशन आव्हान गरेको प्रदेश प्रमुख सोमनाथ प्यासी अधिकारीले पठाउनु भएको पत्र पढेर सुनाएसँगै अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित भएको घोषणा गर्नुभएको हो ।
यसअघि नेकपाका दुवै पक्षले एकअर्कालाई निषेध गर्ने रणनीति बनाएपछि कार्यव्यवस्था परामर्श समितिको बैठकले कुनै पनि दलका नेताहरुलाई बोल्न नदिने निर्णय गरेको थियो । उक्त निर्णय अनुसार संसदीय दलका नेताहरुले सम्बोधन गर्ने संसदीय परम्परा तोड्दै सिधै प्रदेश प्रमुखको पत्र पढेर सुनाएर बैठक स्थगित भएको हो ।
नेकपाको विभाजनपछि बस्न लागेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री शेरधन राईले निलम्बन गरेका प्रचण्ड–माधव समूहका १६ जना सांसदलाई बैठक कक्षमा प्रवेश गर्न नदिने योजना ओली समूहले बनाएको थियो । यसैगरी प्रचण्ड–माधव पक्षले राईलाई संसदीय दलको नेताबाट हटाइसकेको भन्दै उनलाई बोल्न नदिने रणनीति बनाएको थियो ।
प्रदेशसभामा मुठभेडको स्थिति आउनसक्ने आँकलन गर्दै मर्यादापालकको संख्या बढाइएको थियो । तर, प्रदेशसभा बैठकमा भने निलम्बन गरिएका भनिएका सांसदहरुको पनि सहभागीता थियो ।
फाइल तस्बिरः हाम्रोमत