उर्लाबारी । एक महिनाअघि मृत भेटिएका उर्लाबारीका एक व्यक्तिको परिवारले किटानी जाहेरी दिँदा पनि प्रहरीले छानबिनमा तदारुकता देखाएको छैन ।
उर्लाबारी–५ का ३१ वर्षीय प्रवीण बास्तोला गत पुस ४ गते शङ्कास्पद अवस्थामा मृत भेटिएका थिए । साथीहरूको डेरामा गएका व्यक्ति मृत भेटिएका र उनीसँगै रहेका तिन जना साथीहरूको भूमिका शङ्कास्पद देखिएता पनि प्रहरीले कुनै छानबिन अघि बढाएको छैन ।
बास्तोला परिवारले घटना भवितव्य नभई हत्या नै भएको जनाएको छ । घटनामा संलग्न भनिएका उर्लाबारी–६ बस्ने रिकेश सिवा भनिने राकेश दर्जी, दीपेश पौडेल, पप्पु भनिने राजेश रणपहेली पक्राउ परे पनि केही दिनपछि नै थुनामुक्त भएका छन् । उनीहरूलाई मुद्दा चलाएर अदालती प्रक्रियाबाट न्याय निरूपण गर्नुपर्नेमा त्यत्तिकै छोडिदिएपछि उर्लाबारी प्रहरी शङ्काको घेरामा परेको हो । घटनाबारे जानकारी माग्दा पीडित पक्षलाई प्रहरी निरीक्षक उद्धव पोखरेलले उल्टै थर्काउने गरेको मृतककी बहिनी दुर्गा बास्तोलाले बताइन् ।
कसैको फोन आएर त्यसदिन दिउँसो १ बजे घरबाट उर्लाबारी चौकबाट पूर्व गएको र त्यसपछि आफ्ना छोरा बेपत्ता भएको मृतकका बुबा प्रेम बास्तोलाको भनाइ छ । उनका अनुसार साथीहरूसँगै बसेर मादक–पदार्थ सेवन गरेको भनिए पनि परिवारलाई मृत्युको जानकारी नदिई शव अस्पताल पु¥याइएको थियो । १२ घण्टापछि मात्रै परिवारले घटनाबारे जानकारी पाउनु, स्थानीय गोदावरी अस्पतालमा मृतकको शव हुँदाहुँदै मावा खोलामा शव छ भनेर ढाट्नेजस्ता कार्य भएकोले घटना शङ्कास्पद रहेको बास्तोला परिवारको बुझाइ छ ।
उनीहरूले घटनाको सत्यतथ्य छानबिन गर्न माग गरेका छन् । प्रहरीले आफन्त र स्थानीयलाई जानकारी नै नदिएर नियन्त्रणमा लिइएका आरोपितलाई छाडिसकेको छ । पोष्टमार्टम रिपोर्ट प्राप्त भए पनि मृत्युको कारण सामान्य भनेर प्रहरीले घटनालाई ढिसमिस गराएको पीडित परिवारको दाबी छ ।