लोड हुँदैछ...

मेनु

५ जनाले हस्ताक्षर फिर्ता लिएपछि प्रचण्ड–नेपाल पक्षको निष्कर्ष

अब कांग्रेस निर्णायक बन्यो: राजेन्द्र राई

अब कांग्रेस निर्णायक बन्यो: राजेन्द्र राई

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका प्रचण्ड–माधव समूहका लागि सो प्रस्ताव पारित गराउन कांग्रेसको साथ निर्णायक बनेको छ ।

यसअघि ३७ जनाको हस्ताक्षरसहित अविश्वासको प्रस्ताव दर्ता गराएको नेकपा प्रचण्ड–माधव समूहका ५ जना सांसदले आफ्नो हस्ताक्षर फिर्ता लिएका छन् । अब ३२ जना सांसद अविश्वासको पक्षमा रहेको बताइए पनि सो समूहले अझै आफूहरुसँग ४० जना सांसद रहेको दाबी गरेको छ ।

‘त्यसबेलाको ३७ जनाको सांसदको हस्ताक्षर हेरेर ५ जनाले फिर्ता लिए अब ३२ जना मात्रै छन् भन्ने जुन हल्ला छ त्यो सत्य होइन, हामीसँग अझै ४० जना सांसद छन्,’ प्रचण्ड–माधव समूहका प्रदेशसभा सांसद राजेन्द्रकुमार राईले भन्नुभयो, ‘५ जनाले हस्ताक्षर फिर्ता लिएपछि भने हामीसँग अविश्वासको प्रस्ताव पारित गराउन कांग्रेसको साथ चाहिने देखियो ।’

सांसद राईले ५ जनाले फिर्ता नलिएको अवस्थामा साना पार्टी मिलाएर पनि अविश्वासको प्रस्ताव पारित गराउन सक्ने अवस्था रहेको भएपनि अब कांग्रेस नै निर्णायक बनेको बताउनु भयो । ‘५ जनाले अविश्वासको प्रस्तावको हस्ताक्षर फिर्ता नलिनुभएको भए हामीलाई साना दलसँग मिलेर पनि त्यो पारित गराउन सक्ने अवस्था थियो,’ राईले भन्नुभयो, ‘अब भने हामीले कांग्रेससँगै मिल्नुपर्ने अवस्था देखियो ।’

त्यस विषयमा कांग्रेससँग पनि अनौपचारिक र औपचारिक ढंगले कुराकानी भइरहेको र मंगलबार (आज) ठोस निष्कर्ष निस्कने बताउनु भयो । ‘कांग्रेसको समर्थन खोज्दा हामीले केन्द्रकै पहल आवश्यक ठानेका छौं, ५ वटै प्रदेशमा अब कसरी सरकार गठन गर्ने, कांग्रेससँग कसरी सहमति गर्ने भन्ने विषय माथिबाटै हुनुपर्ने देखियो,’ राईले भन्नुभयो, ‘तलबाट सहमति कायम गराउने र सहमति जुटाउने विषयमा हामीले पहल र सुझाव केन्द्रमा दिइसकेका छौं ।’

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।