लोड हुँदैछ...

मेनु

ओलीले धेरै गल्ती गरिसके अब उनको अन्त्य हुन्छः पाण्डे

ओलीले धेरै गल्ती गरिसके अब उनको अन्त्य हुन्छः पाण्डे

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले प्रधानमन्त्री ओलीको अन्तिम अस्त्र सकिएको र अन्त्यको बाटोमा लागेको बताउनु भएको छ ।

विराटनगरमा नगरस्तरका अगुवा कार्यकर्तालाई सम्बोधन गर्दैै पाण्डेले अब ओलीको अन्तिम दिन आएको पनि बताउनु भयो । महाभारत कथाका शिशुपाललाई मृत्यु दण्ड दिइएको कथा सुनाउँदै पाण्डेले ओलीको पालो अब अन्त्य भएको दाबी पनि गर्नुभयो । ‘महाभारत कथामा शिशुपाललाई १ सय वटा मृत्युदण्डयोग्य गल्तीमा श्रीकृष्णले मार्फी दिए, जब १ सयभन्दा बढी त्यसप्रकारका गल्ती गरे त्यसपछि उनै श्रीकृष्णले शीर छेदन गरी मृत्युदण्ड दिए,’ पाण्डेले भन्नुभयो, ‘अहिले प्रधानमन्त्री केपी शर्मा ओलीले पनि १ सयभन्दा बढी मृत्युदण्डयोग्य गल्ती गर्नुभएको छ, अब कसैले माफी दिनेवाला छैन, उहाँको अन्तिम विकल्प भनेको अन्त्य नै हो ।’

वर्तमान संविधानमा नभएको धारा प्रयोग गरेर प्रतिनिधिसभा विघटन गराएको बताउँदै उहाँले यस कार्यले संविधान घाइते भएको बताउनु भयो । यसलाई अदालतले सच्याउने दाबी गर्दै पाण्डेले न्याय र सत्यको पक्षमा निर्णय गर्ने गरी दबाब सिर्जना गर्नुपर्ने बताउनु भयो ।

‘आजदेखि अदालतले निरन्तर सुनुवाईको कुरा गरेको अब हामीले ठीक निर्णय अदालतले गरोस् भन्ने उद्देश्यले सशक्त दबाब बढाउनु पर्ने आवश्यकता छ,’ पाण्डेले भन्नुभयो । सोही दबाब सिर्जना गर्नका लागि पार्टीको केन्द्रीय कार्यक्रमको रुपमा माघ ९ गते काठमाडौंमा १ लाख मानिस उतारेर प्रदर्शन गर्ने र प्रदेशस्तरीय कार्यक्रम माघ १६ गते प्रत्येक प्रदेशमा ५० हजार मानिस उतारेर प्रदर्शन गरिने पाण्डेले बताउनु भयो ।

निर्वाचन आयोगले हालसम्म पार्टी फुटसम्बन्धी दर्जनबढी निर्णय गर्दा केन्द्रीय समितिको बहुमत र अल्पमतको आधारमा निर्णय गरेको बताउँदै पाण्डेले पार्टीको नाम र चुनाव चिन्ह आफूहरुसँगै रहने दाबी पनि गर्नुभयो ।

प्रधानमन्त्री ओलीले पार्टी एकता गर्नु अघि र एकता पछि पनि आफूलाई केन्द्रमा राख्ने र पद जोगाउने तिरमात्रै ध्यान दिँदा अहिलेको अवस्था सिर्जना भएको बताउनु भयो । ओली नेतृत्वको सरकारलाई ऐतिहासिक अवसर भएको भएपनि काम नगरेको बताउँदै उहाँले समाजवादी राज्य व्यवस्था निर्माणमा ओलीले कुनै काम नगरेको बताउनु भयो ।

कम्युनिष्ट नेतृत्वको सरकारले निःशुल्क शिक्षा, निःशुल्क स्वास्थ्य, जेष्ठ नागरिक तथा असहायको संरक्षण र प्रत्येक नागरिकलाई आवासको सुनिश्चितता गरे मात्रै समाजवाद स्थापना हुने पाण्डेले बताउनु भयो । यतातिर भन्दा ओलीले गुटबन्दी र अहंकारमा केन्द्रीत हुने, पार्टीभित्र आफू शक्तिशाली बन्नका लागि नेता पिच्छे फरकफरक प्रलोभन दिने, विगतमा राजाको जस्तो आफूलाई ठान्ने गरेको कारण लक्ष्य अनुसार कम्युनिष्ट सरकार अगाडि बढ्न नसकेको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।