लोड हुँदैछ...

मेनु

प्रदेश १ मा कामदारको दक्षता अभिवृद्धिका लागी ई.एल.एम.एस परियोजना सञ्चालन

प्रदेश १ मा कामदारको दक्षता अभिवृद्धिका लागी ई.एल.एम.एस परियोजना सञ्चालन

विराटनगर । प्रदेश नं. १ मा कामदारको सीप विकाससँगै उनीहरुको दक्षता अभिवृद्धिका लागि ई.एल.एम.एस परियोजना सुरु भएको छ ।

प्रदेश नं. १ का ३ जिल्लामा सो परियोजना सुरु भएको हो । बेरोजगार युवाहरुमा दक्षता तथा सीप अभिवृद्धि गरि स्वरोजगार बनाउने उदेश्यले नेपाल घरेलु तथा साना उद्योग महासंघ, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल निर्माण व्यवसायी महासंघ र होटल संघ नेपालको सहकार्यमा युरोपियन युनियनको आर्थिक सहयोग तथा ब्रिटिस काउन्सिलको व्यवस्थापनमा प्रदेश नं. १ मा उक्त परियोजना सुरु भएको हो ।

शुक्रबार अपरान्ह प्रदेश नं. १ का उद्योग पर्यटन वन तथा वातावरणमन्त्री जगदिश प्रसाद कुसियतले परियोजनाको उद्घाटन गर्नुभएको हो । सोही अवसरमा बोल्नुहुँदै मन्त्री कुशियतले सीपमुलक तालिमहरु उपयोगी हुनुपर्ने जोड दिनुभयो । मन्त्री कुशियतले सीप नभएकै कारण विदेशमा नेपालीहरु न्युन ज्यालादारीमा काम गर्दै आउनुपरेको जिकिर गर्नुभयो । उहाँले दक्ष जनशक्ति उत्पादन गर्न प्रदेश सरकारले पनि आवश्यक सहयोग गर्न तयार रहेको प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

यस्तै कार्यक्रममा बोल्नुहुँदै प्रदेश योजना आयोगका उपाध्यक्ष सुबोध प्याकुरेलले सुनसरी मोरङ औद्योगिक करिडोरमा ६० हजार बढी दक्ष जनशक्ति अभाव रहेकाले कामदारको सीप विकास गरि स्वदेशमै रोजगारी सिर्जना गर्नुपर्ने बिषयमा जोड दिनुभयो । उहाँले तीनै तहका सरकार र विभिन्न संघ संस्थाले सीपमुलक तालिम सञ्चालन गर्दै आएको भएपनि त्यसको सदुपयोग हुन नसकेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । उहाँले अब उप्रान्त तालिमको सही सदुपयोगका लागी त्यसकोे डिजाइन गरिनुपर्ने बिषयमा सबैको ध्यानाकर्षण गराउनुभयो ।

कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघका कार्यबाहक अध्यक्ष उमेशप्रसाद सिंहले दक्षता परियोजना प्रत्येक प्रदेशका तीन/तीन जिल्लामा गरि देशभर २१ वटा जिल्लाहरुमा सञ्चालन हुने जानकारी दिनुभयो । उनले नेपालका कृषि, पर्यटन र निर्माण क्षेत्रमा आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने परियोजनाको मुख्य उद्देश्य रहेको जानकारी दिनुभयो ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल निर्माण व्यवसायी महासंघ र होटल संघ नेपालको सहकार्यमा युरोपियन युनियनको आर्थिक सहयोग तथा ब्रिटिस काउन्सिलको व्यवस्थापनमा सञ्चालित दक्षता परियोजनाको सहयोगमा कृषि, पर्यटन र निर्माण क्षेत्रका कामदारहरुलाई लक्षित गरि सो परियोजना कार्यान्वयन गर्न लागिएको नेपाल साना तथा घरेलु उद्योग महासंघ मोरङका अध्यक्ष चेतन निरौलाले जानकारी दिनुभयो ।

कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव चन्द्र घिमिरे, प्रदेश १ सरकारका मुख्य सचिव दिनेश भट्टराई, सिटिईभिटी प्रदेश नं. १ का प्रमुख शिवप्रसाद दाहाल, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ का अध्यक्ष टिकाराज ढकाल लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।