आगलागीबाट आमाछोरी घाइते

उर्लाबारी । मोरङको उर्लाबारी वडा नं. १ सुकुम्बासी टोलमा महादेव साहको घरमा शनिबार दिउँसो आगलागी हुँदा उनकी श्रीमति र छोरी घाइते हुनुको साथै घर पूर्ण रुपमा जलेको छ ।

बाँसको बेरा लगाएर बनाइएको घर, लत्ताकपडालगायत जलेका छन् भने ३५ बर्षीया रिता साह र १ बर्षीया छोरी अनुशा साहको हात, शरिरलगायतमा आगोले पोलेको छ । आर्थिक अवस्था ज्यादै नाजुक भएका महादेव दैनिक मजदुरी गरी घरपरिवार चलाउँदै आएका थिए । श्रीमति र छोरीको उपचारका लागि उनले सहयोगी हातहरुलाई अपिल गरेका छन् ।

त्यस्तै, साहको घर निर्माणका लागि टोल विकास समितिका अध्यक्ष दिनेश फुयाल, घनश्याम विश्वकर्मालगायतले पहल गरिरहेका छन् । उर्लाबारी नगरपालिका वडा नं. १ का वडाध्यक्ष मचिन्द्र कार्कीले पनि वडा कार्यालयको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जाहेर गरेका छन् । यसैबीच घाइते आमाछोरीको सम्पूर्ण उपचार अरनिको हस्पिटल उर्लाबारीले गर्ने भएको छ ।

आइतबार, १९ पुष, २०७७, साँझको ०५:३३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर