संसद विघटनविरूद्ध जसपाको निरन्तर प्रर्दशन

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको असंवैधानिक निर्णय विरूद्ध जनता समाजवादी पार्टी (जसपा) मोरङले विरोध प्रदर्शनलाई निरन्तरता दिएको छ ।

जसपाको केन्द्रीय समितिले संसद विघटनको देशव्यापी विरोध गर्ने निर्णयस्वरूप आइतबार पनि विराटनगरमा विरोध प्रर्दशन गरेको हो । यसअघि पनि जसपाले दैनिक जसो विराटनगरमा विरोध प्रर्दशन गर्दै आएको छ । विराटनगरको संसारीमाईबाट निस्किएको ¥यालीसहितको विरोध प्रर्दशन नगर परिक्रमा गरि बी प्लटमा आएर कोणसभामा परिणत भयो ।

सभालाई सम्बोधन गर्दै उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गर्ने कार्यलाई असंवैधानिक भएको भन्दै त्यसको विरुद्ध शसक्त आन्दोलन गर्ने बताएका छन् । उनीहरूले संसद विघटन गर्ने प्रधानमन्त्रीको प्रस्ताव र त्यसलाई स्वीकृत गर्ने राष्ट्रपति निर्णय असंवैधानिक, लोकतन्त्रविरोधी र व्यवस्थाकै विपक्षमा रहेको बताउनु भयो ।

विरोधसभामा बोल्दै जसपाका केन्द्रीय सदस्यहरू ईनामुल हक, तेजलाल कर्ण, सन्जु शर्मा, रामलाल सुतिहार, शंकर शाह, चन्द्रप्रसाद राजबंशी, तवरेज हक, जिल्ला अध्यक्ष राजकुमार यादवलगायतले असंवैधानिक तरिकाले ओलीले गरेको प्रतिनिधिसभा विघटनको कडा विरोध गर्नुभयो । संसद विघटन गर्ने असंवैधानिक कार्यलाई तत्काल फिर्ता नलिएसम्मका लागि सरकारको असंवैधानिक कदमको विरोध कार्यक्रमलाई निरन्तरता दिने जसपा मोरङका अध्यक्ष राजकुमार यादवले बताउनुभयो । जसपाले केही दिन अगाडि विराटनगरमा प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला पनि जलाएका थिए ।

आइतबार, १२ पुष, २०७७, साँझको ०६:५२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर