विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईकै कारण प्रदेश सरकारको वित्तीय अनुशासन भंग हुनपुगेको निवर्तमान आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले बताउनुभएको छ ।
सरकारमा रहेर ३४ महिनाको अवधिमा सम्पादन गरेको कामका बारेमा जानकारी दिन आइतबार अपरान्ह आयोजित पत्रकार भेटघाटमा उहाँले मुख्यमन्त्रीबाट वित्तीय सन्तुलन कायम गर्न प्रयाप्त सहयोग नपाएको समेत बताउनुभयो ।
भौतिक पूर्वाधार विकास मन्त्रालयले गत आर्थिक वर्षको अन्तिमतिर गैह्रबजेटरी खर्च गर्ने गरी झण्डै ६ अर्ब हाराहारीका बहुवर्षे योजनाहरु अगाडि सारेपछि नीतिगत रुपमा वित्तीय अनुशासन भंग भएको उहाँको भनाई थियो । आर्थिक मामिला मन्त्रालयले उक्त प्रस्ताव अस्वीकृत गरिदिएको थियो । त्यसको बदलामा चालु वर्षको बजेट निर्माणको अन्तिम तयारी भइरहेको बेला मुख्यमन्त्री राईले बजेट निर्माणका लागि विज्ञ मानिएका प्रदेशका एकमात्र उपसचिव हरिहर पौडेललाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गर्नुभएको थियो । मन्त्रीसँग कुनै छलफल नगरी बजेट बनाउने बेलामा महत्वपूर्ण कर्मचारी सरुवा भएपछि बजेट निर्माण नै कठिन हुन पुगेको थियो । त्यस घटनापछि मुख्यमन्त्री राई र आङ्बोबीच सम्वन्ध सुमधुर थिएन ।
‘प्रदेशमा वित्तीय असन्तुलन ल्याउने काम मुख्यमन्त्री र भौतिक पूर्वाधार विकास मन्त्रालयबाट हुनपुग्यो,’ नेता आङ्बोले भन्नुभयो ‘प्रदेशको स्रोत र साधन भन्दा असाध्यै धेरै आयोजना उहाँहरुले अगाडि सार्दा समस्या सिर्जना हुनपुग्यो ।’ भौतिक पूर्वाधार विकास मन्त्रालयको निर्देशनमा आर्थिक ममिला तथा योजनासँग स्वीकृति नलिई झण्डै ४ अर्ब खर्च गरेको र अहिलेसम्म पनि उपभोक्ताहरुले भुक्तानी नपाउने अवस्था रहेको छ । यसले आर्थिक अनुशासन र सन्तुलन बिग्रिएको उहाँको भनाई थियो ।
मुख्यमन्त्रीको नीतिगत राजनीतिक निर्णय मन्त्रीको हैशियतले मात्र रोक्न सक्ने अवस्था नहुँदा आर्थिक सन्तुलन बिग्रिएको उहाँले बताउनुभयो । ‘जुन दिन मुख्यमन्त्रीले भौतिक पूर्वाधार विकास मन्त्रालयमा राज्यमन्त्री नियुक्त गर्नुभयो प्रदेशको आर्थिक सुशासन र सन्तुलन त्यहि दिनबाट बिग्रियो,’ आङ्बोले भन्नुभयो ‘बजेटमा नभएका योजनाहरुमा खर्चहरु गर्न थाल्नुभयो, मुख्यमन्त्रीले नियन्त्रणको प्रयासनै गर्नुभएन ।’ उहाँले भौतिक पूर्वाधार र भूमिव्यवस्था,कृषि तथा सहकारी मन्त्रालयको समस्याको जिम्मेवारी मुख्यमन्त्रीले लिनुपर्ने पनि बताउनुभयो ।
आफ्नो २ वर्ष १० महिने कार्यकाल सफलतापूर्वक पुरा गरेको र यस अवधिमा मन्त्रालयमा सुशासन कायम राखेको, अन्तर मन्त्रालयबीच राम्रो समन्वय गरेको, र आर्थिक मामिला मन्त्रालयले कुनैपनि निर्णयमा कमजोरी नगरेको उहाँले बताउनुभयो ।
अहिलेपनि प्रदेशको संचित बचत २ अर्ब भन्दा बढी रहेको उहाँले जानकारी दिनुभयो । चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो चौमासिकसम्म १७ प्रतिशत बजेट खर्च गरेको भन्दै उहाँले चालु प्रकृतिका योजनाहरुलाई निरन्तरता दिन सकिने अवस्था विद्यमान रहेको बताउनुभयो । प्रदेश सरकारको आर्थिक स्रोत र बहुवर्षे योजनाहरुको चापले बजेट कार्यान्वयन चुनौतिपूर्ण छ तर नयाँ आयोजनाहरुलाई नियन्त्रण गरेर चलाउने हो भने आत्तिनु पर्ने अवस्था भने छैन,’ उहाँले भन्नुभयो ।
आफुले क्याण्डिल बालेर मन्त्रीको रुपमा पदभार ग्रहण गरेको स्मरण गर्नुहुँदै मन्त्री आङ्बोले भन्नुभयो, ‘बस्ने ठाउँ नहुँदा म ८ दिन स्वागतम होटलमा बसें । पछि यो भवन खोजेर आफैं सरें । कमजोर अवस्था र संरचनाविहीन अवस्थाबाट काम गर्दै अहिलेको अवस्थासम्म ल्याएका छौं ।’
प्रदेशलाई बलियो बनाउन र प्रदेशसभालाई सफल बनाउन यस अवधिमा विपक्षी दलहरुले खेलेको भूमिकाको पनि उहाँले खुलेर प्रशंशा गर्नुभएको छ । ‘प्रमुख प्रतिपक्ष दल संयम र जिम्मेवार भएकै कारण संघीयताको स्थायित्वको वातावरण बनेको छ, उहाँले भन्नुभयो ‘प्रधानमन्त्री स्वयंले संघीयता मन नपाराइरहेको अवस्थामा प्रमुख विपक्षी दलको भूमिका थिएन भने जोखिमपूर्ण हुनसक्थ्यो ।’

