विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई विरुद्धको अविश्वासको प्रस्ताव दर्ता भएको छ । उक्त प्रस्तावमा ३७ जनाको हस्ताक्षर रहेको बुझिएको छ ।
आफू समर्थक सांसदहरु आउँदै गरेको र एकैपटक भेला हुन नपाएको कारण सो संख्यामा हस्ताक्षर संकलन भएको अविश्वास प्रस्तावको पक्षले जनाएको छ । यो संख्या थपिने सो पक्षले जनाएको छ । आज संसद सचिवालयमा मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको हो । नेकपा संसदीय दलका उपनेता टंक आङ्बोहाङको नेतृत्वको टोली संसद सचिवालय पुगेको हो ।
अविश्वासको प्रस्तावमा अबको मुख्यमन्त्रीमा भीम आचार्यलाई प्रस्ताव गरिएको छ । उक्त प्रस्तावको प्रस्तावक इन्द्र बहादुर आङ्बो र समर्थकमा लछुमन तिवारी रहनु भएको छ ।
९३ सदस्य रहेको प्रदेशसभामा नेकपाको ६७ जना सदस्य छन् । पार्टी विभाजनपछि ओली समूहमा १९ र प्रचण्ड–माधव समूहमा ४८ जना सदस्य छन् । प्रदेशसभामा नेपाली काँग्रेसको २१, जसपाको ३, संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चको १ र राप्रपाको १ सदस्य छन् ।