नेकपा विवाद

अविश्वासको प्रस्ताव दर्ता गर्न संसद सचिवालय पुगे नेताहरू

अबको मुख्यमन्त्रीमा भीम आचार्य प्रस्ताबित, प्रस्तावक इन्द्रबहादुर आङ्बो र समर्थक लछुमन तिवारी

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्न नेकपा संसदीय दलका उपनेता टंक आङ्बोहाङको नेतृत्वमा टोली संसद सचिवालय पुगेको छ ।

प्रचण्ड–नेपाल पक्षले दर्ता गर्न लागेको अविश्वासको प्रस्तावमा अबको मुख्यमन्त्रीमा भीम आचार्यलाई प्रस्ताव गरिएको छ । उक्त प्रस्तावको प्रस्तावक इन्द्र बहादुर आङ्बो र समर्थकमा लछुमन तिवारी रहनु भएको छ ।

यसअघि वाग्मती प्रदेशमा मुख्यमन्त्री डोरमणी पौडेलविरुद्ध शुक्रबार अविश्वास प्रस्ताव दर्ता भइसकेको छ । नेकपामा देखिएको विवाद प्रदेशसम्म आइपुगेको छ ।

आफू सहभागी सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन आफैँ लागेको थाहा भएपछि आर्थिक मामिला मन्त्री इन्द्रबहादुर आङ्बोलाई हिंजै मुख्यमन्त्री शेरधन राईले पदमुक्त गर्नुभएको थियो ।

प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुई समूहमा विभाजित भइसकेको छ । नेकपाको बहुमत केन्द्रीय समितिको बैठकले केपी शर्मा ओलीलाई अध्यक्षबाट बर्खास्त गरेको छ ।

९३ सदस्य रहेको प्रदेशसभामा नेकपाको ६७ जना सदस्य छन् । पार्टी विभाजनपछि ओली समूहमा १९ र प्रचण्ड–माधव समूहमा ४८ जना सदस्य छन् । प्रदेशसभामा नेपाली काँग्रेसको २१, जसपाको ३, संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चको १ र राप्रपाको १ सदस्य छन् ।

आइतबार, १२ पुष, २०७७, बिहानको १०:१४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर