कोशी टप्पुबाट हात्ती सार्ने तयारी

इनरुवा । नियन्त्रण गर्न चुनौती थपिएको भन्दै कोशीटप्पु वन्यजन्तु आरक्षबाट रैथाने हात्ती सार्ने तयारी गरिएको छ ।

पछिल्लो केही वर्षयता हात्ती आतङ्क नियन्त्रणमा चुनौती थपिएको भन्दै आरक्ष प्रशासनले हात्ती सार्ने तयारी गरेको हो ।

खानेकुरा नपाएर जङ्गली हात्ती मानव बस्तीमा पस्दै घर भत्काउने र मान्छे मार्नुका साथै हात्ती आफै असुरक्षित रहेको पाइएको हुँदा सार्ने तयारी गरिएको कोशीटप्पु वन्यजन्तु आरक्षका वार्डेन चन्द्रशेखर चौधरीले जानकारी दिनुभयो । त्यसो गर्दा मानव र हात्तीबीच रहँदै आएको द्वन्द्व अन्त्य हुने उहाँको भनाइ छ ।

कोशीटप्पु वन्यजन्तु आरक्ष कार्यालय पश्चिम कुसाहा–३ मा अवस्थित हात्तीसार सार्ने तयारी गरिएको हो । हात्तीसार दक्षिण डुबानमा वा अन्तै सार्न आफूहरूले आन्तरिक तयारी थालेको वार्डेन चौधरीले बताउनुभयो । कोशीटप्पुमै सार्ने वा अन्तै भन्ने गृहकार्य भइरहेको र त्यसको लागि विभागमा पत्र पठाएको आरक्षले जनाएको छ ।

कोशीटप्पुबाट बाहिर हात्ती सार्न मन्त्रीस्तरीय निर्णय हुनुपर्छ । हात्तीसार सार्दा १० वर्ष अगाडि कोशीटप्पुमा आएको मकुना पनि उनीहरूलाई खोज्दै जाने आरक्षको बुझाइ छ । मकुनाको आतङ्क बढ्दै गएपछि समस्या समाधान गर्ने उद्देश्यले त्यसो गर्न लागिएको हो । कोशीटप्पुबाट हात्तीसार चितवन र पर्सा सार्न सकिने वार्डेन चौधरीको भनाइ छ ।

यसैबीच चितवनबाट कोशीटप्पु आएको प्राविधिक टोलीले आक्रामक मकुना नियन्त्रणउन्मुख रहेको बताएको छ । कोशी गाउँपालिका–६ का प्रमोद यादवको मकुनाको आक्रमणबाट मृत्यु भएपछि वन्यजन्तु चिकित्सक अमिर सडौला नेतृत्वमा आएको प्राविधिक टोलीले मकुना हात्ती नियन्त्रण गर्न उपचार गरिरहेको छ ।

उपचारपछि मकुना हात्तीको बानी व्यहोरामा परिवर्तन आएको वन्यजन्तु चिकित्सक सडौलाले जानकारी दिनुभयो । आरक्षभित्र खानेकुरा नपाउँदा आक्रामक मकुना बाहिर निस्कने गरेको बताउँदै सडौलाले मान्छेसँग डर पैदा गर्ने औषधि चलाएपछि मकुनामा परिवर्तन आएको दाबी गर्नुभयो ।

अहिलेसम्मको अध्ययनमा मकुनामा यौन उन्माद बढाउने हर्माेनका कारण हात्तीको व्यवहारमा परिवर्तन आएको पाइएको छ ।

बुधबार, ०८ पुष, २०७७, बिहानको १०:४९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर