५० लाख असुलेको आरोपमा शेख पक्राउ

विराटनगर । धाकधम्की दिएर ५० लाख रूपैयाँ असुली गरेको आरोपमा विराटनगरबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा विराटनगर ९ घोघापुल चोकका एजाज शेख छन् । उनलाई सोमबार दिउँसो विराटनगरबाट अनुसन्धानको लागि पक्राउ गरिएको मोरङ प्रहरीका प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिनुभयो ।

केही सर्वसाधरणबाट ५० लाख रूपैयाँ असुली गरेको उजुरी आएपछि अनुसन्धानको लागि नियन्त्रणमा लिएको एसपी खड्काले बताउनुभयो । ‘केही सर्वसाधारणले नियन्त्रणमा लिएर धाकधम्की दिई आपराधिक लाभ लिएको उजुरी दिएपछि उनलाई नियन्त्रणमा लिइएको हो ,’ एसपी खड्काले भन्नुभयो, ‘अहिले थप अनुसन्धान भइरहेको छ ।’

शेखले सर्वसाधारणबाट आपराधिक लाभ के कति लिएको भन्नेबारे अनुसन्धानपछि खुल्ने प्रहरीले जनाएको छ । शेख गैरकानूनी मानिएको मिटर ब्याज लगानीमा संलग्न भएको हुनसक्ने भएकोले प्रहरीले त्यसतर्फ पनि अनुसन्धान सुरु गरेको छ ।

यसअघि अवैध मिटर ब्याजमा लगानी गरेर सर्वसाधारणलाई ‘टाट’ पल्टाएको आरोप लागेपछि विराटनगर ९ घोघापुल चोकका मन्टु भनिने सञ्जयप्रसाद रौनियारलाई पक्राउ गरि मोरङ प्रहरीले अनुसन्धान गर्दै आएको छ । ४५ वर्षीय रौनियारलाई प्रहरीले २९ मंसिरमा घरबाटै पक्राउ गरेको थियो ।

रौनियारको धन्दामा शेखको पनि संलग्न हुनसक्ने भएकोले प्रहरीले त्यसतर्फ पनि अनुसन्धान सुरु गरेको बताइएको छ । सर्वसाधारणलाई नियन्त्रणमा लिएर पैसा उठाएको पाइएपछि उनलाई पक्राउ गरिएको हो ।

रौनियारको धन्दामा शेखले सहयोग गर्दै आएको दाबी सर्वसाधारणको छ । केही दिनअघि सर्वसाधारणले पत्रकार सम्मेलन गरी गैरकानुनी मिटरब्याज लगानीबारे जानकारी दिएपछि प्रहरीले संलग्नहरूको खोजी गरिरहेको छ ।

मङ्गलबार, ०७ पुष, २०७७, बिहानको ११:०४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर