लीलावल्लभ घिमिरे
हाम्रो मेयर साव धेरै व्यस्त हुनुहुन्छ । मोवाइलमा फोन ग¥यो, उहाँको सहयोगीले रुखो स्वरमा भन्छन्ः मेयर साव व्यस्त हुनुहुन्छ, पछि कल गर्नुहोला । विचरा सहयोगीसँग किन रिसाउनु ? मजस्ता सयौंको फोन उठाउनु उसको रोजगारी हो । अनि सुँगा रटाईमा व्यस्त हुनुहुन्छ भन्नु आदेशको पालना हो ।
फोनबाट पार नलागेपछि कार्यालयमा पुग्यो, कोठा बाहिरको ठूलो बोर्डमा मेयर सावको नाम छ । नामभन्दा अलिकति तल ‘व्यस्त’ लेखिएको छ । उभिएर खुट्टा खत्रकै गलेको विचरो नगररक्षक बोर्डतिर देखाउँछ र मलिन स्वरमा भन्छ, मेयर साव व्यस्त हुनुहुन्छ । मेयर साव धेरै व्यस्त भएर होला, ढोकामा चाबी लागेको छ । ब्यस्त मेयरको दर्शन बसेका फुर्सदिलाहरुको लाइनमा बस्नु आज हरेकको नियति नै बनेको छ । विन्तीपत्र भित्र पठायो । घण्टापछि बवुरो कर्मचारी चाबी खोलिदिन्छ । दुबै हात जोड्दै भित्र पासो, नमस्कार खेर जान्छ । किनकी मेयर सावको कुर्सी खाली छ । मेयर सावको कोठाभित्र अर्को कोठा छ । मेयर साव, त्यहि कोठाभित्र खासखास, खुस्खुसमा व्यस्त हुनुहुन्छ । कोठाभित्रको कोठामा बस्नेहरुको कोठामा नै लाइन छ । पालो कति बेला आउँछ, थाहा छैन । मेयर सावको व्यस्तता अझ बढिरहेको छ । लाग्छ त्यहाँ पुगेकाहरु फुर्सदिला हुन् । व्यस्तताका बिच मेयरसँग भलाकुसारी हुने अवसर मिल्छ । मेयर साव हतारमा हुनुहुन्छ । मलिन स्वरमा भन्नुहुन्छ, सरी है । अहिले अलि बढि नै व्यस्त छु, पछि कुरा गरौंला ।
मेयर सावको व्यस्तता यतिमा सकिदैन । कार्यालयबाट बाहिरनसाथ कालो सिसा लगाएको गाडीमा बेजोडले दौडिनुहुन्छ । मेयर सावको दौडाइले बैकुण्ठ मानन्धरलाई बिर्साउँछ । मेयर साव व्यस्त भएरै होला साँझ समयमा कहिल्यै घरमा पुग्नुहुन्न । मेयर सावको घरमा सधै खाना चिसो हुन्छ । मेयर साव खै के मा हो ? सधै व्यस्त रहनुहुन्छ । मेयर सावलाई आजभोलि सर्वसाधारणलाई भेट्ने खासै फुर्सद छैन । हिजोका चिया चौतारामा अड्ने फुर्सद त छदैछैन । किनकि मेयर सावको व्यस्तता झनै बढिरहेको छ ।
मेयर साव यति न व्यस्त हुनु भएको छ, व्यस्तताले नै होला वर्षमा तीन पटक फेरिएका प्रमुख प्रशासकीय अधिकृतसँग आएको महिना पुग्न नपाउँदै बोलचाल बन्द हुन्छ । आफू जस्तै पार्टीले टिकट दिएर समान पदमा जितेर आएकी उपमेयरसँग बोल्नु नै पर्दैन, आँखा कड्काएर हेर्दा पुग्छ । मेयर सावको व्यस्तताको शिकार साथीभाई, पार्टीका कार्यकर्ता, नगरवासी मात्र हैन घरका आमाबाबु, श्रीमती र छोराछोरी भएका होलान् । मेयर सावले २ वर्षपछिका दिन सम्झने फुर्सदसमेत पाउनु भएको छैन, सायद व्यस्त भएर ।
मेयर साव व्यस्त भएको तीन वर्ष पुरा भयो । मेयर साव व्यस्त हुने दिन नजिकिरहँदा झन् व्यस्त भईराख्नु भएको छ । मेयर साव ! अब यो व्यस्तता दौडाहालाई छोड्नुहोस् । कार्यकक्षको ढोका खुल्ला राख्नुहोस् । कुर्सी पछाडिको कोठरी बन्द गर्नुहोस् । कालो सिसा भएको गाडीवाट उत्रेर पैदल हिँड्नुहोस् । अनि मेरो नगरवासीले मलाई के भन्दा रहेछन् भनेर सुन्ने आँट देखाउनु होस् । अबको समय तपाईले तीन वर्षसम्म गरेका कामको समिक्षा गर्ने समय हो । अबको समय कोठरीमा हैन, चौतारामा बस्ने समय हो । आउनुहोस् तपाईको नगरमा कति कालोपत्रे भयो ? तपाईका योजना अबका के छन् ? तपाईका नगरवासीले कर मात्र तिरे कि त्यसबापत गुणस्तरीक शिक्षा र स्वास्थ्य पाए ? स्वच्छ खानेपानी कतिले पाए ? अनि हिजो तपाई विजयी हुँदा काँधमा तपाईलाई राखेर नगर परिक्रममा गराउने कति युवाले रोजगारी पाए ? एकपटक हेर्न मन लागेको छ । तपाईको नगर तपाईसँगै हिँड्न मन लागेको छ । तपाईले गरेका राम्रा कामको लामो सुची बनाउन मन लागेको छ । तपाई आउनुअघिको नगर र तपाईले तीन वर्ष काम गरेको नगरको फरक छुट्याउन मन लागेको छ । अनि तपाईका तीन वर्षअघिका नगरवासीका तस्विर अहिलेका तस्विर राखेर हेर्न मन छ । तपाई आएपछि नगरवासीका मुहारमा कति मुस्कान आयो भनेर बुझ्न मन छ ।
मेयर साव ! पृथ्वी गोलो छ । २ वर्षपछि पार्टीले टिकट देला कि नदेला । जनताले भोट चाहि यस्तै हो भने पक्का दिदैनन् । त्यसपछि तपाई पनि नगरवासी, पाउने भनेको तपाईले नामका अगाडि पूर्वमेयर हो । एकपटक सोच्नुहोस् । अहिले पनि पुरै वितिहालेको छैन । तीन वर्ष त गर्नु सक्नुभएन । अब गर्छु भनेर योजना ल्याउनुहोस् । २ वर्षको समय सडकमा हिँडेर विताउनु होस् । टोल–टोल पैदल जानुहोस् । हिजो हिँड्नु भाकै हो । पार्टी संगठन गर्नु होस् । आलिसान जीवनशैली त्याग्नुहोस् । यो मेयरकै पद तपाईको जीवनको पहिलो र अन्तिम हैन होला । हुन त तपाई यति न व्यस्त हुनुहुन्छ, यो लेखोट पढ्ने फुर्सद नै तपाईलाई कहाँ छ होला र !
यो अंकमा हाम्रा मेयर सावहरुको महिमाको चर्चा गर्न मन लाग्यो । एक मनले सोचे प्रायः सबै चिनजानकै मेयर सावहरु हुनुहुन्छ । किन पो लेख्नु प¥यो । फेरि तलमाथि भयो भने रिसानी होला कि भन्ने डर पनि लाग्यो । फेरि अर्को मनले सोचें, यदि मैले यो लेखिन भने मेरा मेयर सावले २ वर्षपछि मलाई नै गाली गर्नुहुन्छ कि !