इनरुवा । सप्तरीबाट अपहरण गरी १५ वर्षीया बालिकालाई सुनसरी ल्याएर बन्धक बनाई बलात्कार गरेको आरोपमा एक किशोरलाई १९ वर्ष चार महिना कैद सजायको फैसला भएको छ ।
सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका ४ मधवापुरका १८ वर्षीय किशोरलाई सप्तरी जिल्ला अदालतले कैद सजायका साथै जरिवानाको फैसला गरेको हो ।
जिल्ला न्यायाधीश चन्द्रमणि ज्ञवालीको इजलासले आरोपितलाई जबर्जस्ती करणी गरेको आरोपमा ८ वर्ष कैद, अपहरण तथा शरीर बन्धकतर्फ ४ वर्ष ८ महिना कैद र ४६ हजार ६४६ जरिवाना तथा थप सजायतर्फ ६ वर्ष ८ महिना कैद र ६६ हजार ६६६ जरिवाना तोकेको हो । आरोपितले पीडितलाई एकुमष्ठ ५० हजार रुपैयाँ क्षतिपूर्तिसमेत भर्नुपर्ने फैसला भएको छ ।
कैदतर्फ सबैभन्दा बढी जबर्जस्ती करणीमा ८ वर्ष कैद सजाय भुक्तान गरेपछि अपहरण तथा शरीर बन्धकतर्फको सानो कैद भोग्नु नपर्ने अदालतले जनाएको छ । तर, थप सजाय भने भोग्नुपर्ने अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिनुभयो । आरोपितसमेत बालबालिका भएकाले दुईतिहाई कम कैद सजाय हुने तर जरिवाना र क्षतिपूर्ति भने तिर्नुपर्ने अदालतको ठहर छ ।
आरोपितले ०७५ मङ्सिर २५ गते गाउँघरबाटै बालिकालाई अपहरण गरी सुनसरीको इटहरी पु¥याएर बन्धक बनाई बलात्कार गरेको भन्दै पीडितका बुबाले जिल्ला प्रहरी कार्यालय सप्तरीमा २०७५ पुस ३ गते उजुरी दिएका थिए । जिल्ला प्रहरी कार्यालय सप्तरीले आरोपितलाई पुस ४ गते पक्राउ गरेकोमा अदालतले २८ गते बाल सुधारगृहमा पठाउने आदेश गरेको थियो ।