विराटनगर । मोरङको सुनवर्षिस्थित अमरदह बजारमा भीषण आगलागी भएको छ । स्थानीय व्यापारी पारस साहको किराना पसलमा सोमबार मध्यरातिबाट आगो लागेको थियो ।
आगो मंगलबार बिहानमात्र नियन्त्रणमा आएको रंगेली प्रहरीले जनाएको छ । आगो निभाउन विराटनगर, दमक, बेलबारी र कानेपोखरीबाट चारवटा दमकल अमरदह बजार पुगेका थिए ।
स्थानीय, प्रहरी र बारुणयन्त्र कर्मचारीको प्रयासमा आगो नियन्त्रणमा आएको थियो । आगलागीबाट पसलका अधिकांश सामान जलेर नष्ट भएको छ ।
प्रहरीले आगलागीको कारण नखुलेको तर बिजुली सर्ट भएर लागेको हुनसक्ने जनाएको छ । मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काका अनुसार खाद्यान्न तथा दैनिक उपभोग्य सामग्रीसहितको किराना पसल र सामान स्टोर गरेर राखिएको गोदाममा बिहान २ बजेतिर आगो लाग्न सुरु भएको थियो ।
आगलागीमा अन्दाजी १ करोड ५० लाख रुपैयाँ बराबरको क्षति भएको छ । किराना पसल, पसल रहेको घर र पछाडी रहेको अर्काे घरसमेतमा आगलागी हुँदा घरभित्र रहेको नगद २० लाख, सुनचाँदी, लत्ताकपडा, किराना पसलको समानसमेत जलेर नष्ट भएको मोरङ प्रहरीले जनाएको छ ।
नेपाल तथा सशस्त्र प्रहरी, स्थानीय बासिन्दा र विभिन्न ठाउँबाट आइपुगेका पाँचवटा दमकलाई आगो नियन्त्रणमा लिन ६ घण्टाभन्दा बढी समय लागेको थियो । सबैको प्रयासपछि बिहान ८ बजेतिर मात्रै आगो नियन्त्रणमा आएको हो । आगो नियन्त्रणमा लिननै समय लागेपछि पसल र गोदाममा रहेका सबै सामान नष्ट भएको प्रहरीले जनाएको छ ।
आगोले पसल र गोदाम सञ्चालन गरेको घरमा पूर्ण रुपमा क्षति पुगेको छ भने सबै सामान कामै नलाग्ने गरी जलेर नष्ट भएका छन् । एक्कासी आगो सुरु भएपछि आगो नियन्त्रणको प्रयास गर्दै पसल सञ्चालक र स्थानीय बासिन्दाले प्रहरीलाई खवर गरेका थिए ।