ज्येष्ठ नागरिक ग्राम शिलान्यासमा अवरोधको प्रयास

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका–६ का भुमिहीन सुकुम्बासीहरुले वैकल्पिक बसोबासको व्यवस्था मिलाएर मात्र ज्येष्ठ नागरिक ग्राम निमार्णको कार्य अघि बढाउन माग गरेका छन् ।

सोमबार ज्येष्ठ नागरिक ग्रामको शिलान्यास कार्यक्रममा विरोध जनाउँदै वडा नं. ६ स्थित खधराहाका सुकुम्बासीहरुले यस्तो माग गरेका हुन् । वर्षौंदेखि भोगचलन गर्दै आएको जग्गाबाट अचानक विस्थापित गर्न खोजिएको भन्दै उनीहरुले अस्थायी बसोबासको व्यवस्था मिलाएर मात्र ग्राम निर्माणको कार्य अघि बढाउन प्रदेश सरकारको ध्यानाकर्षण गराएका हुन् ।

प्रदेश सरकारले मानव सेवा आश्रमसँगको सहकार्यमा मोरङको ग्रामथान गाउँपालिका वडा नं. ६ स्थित जुडी खोलाको पुलदेखि खधराहा पुलसम्मको १० बिघा १४ कठ्ठा जग्गामा ज्येष्ठ नागरिक ग्राम निर्माणको परियोजना अघि सारेको छ । प्रदेश सरकारको योजना बमोजिम यस क्षेत्रमा २ सय जना सहयोग अपेक्षित सडक आश्रित नागरिकहरुलाई सेवा दिनसक्ने क्षमताको मानव सेवा आश्रम, ६० वर्षमाथिका १ सय जना ज्येष्ठ नागरिकहरुलाई सेवा दिनसक्ने क्षमताको ज्येष्ठ नागरिक ग्राम र नलेज पार्कको रुपमा विकास गर्न सक्ने चिल्डे«न पार्क निर्माण हुनेछ ।

तर स्थानीयसँगको बिना कुनै सर–सल्लाह, आपसी समझदारी र पूर्व जानकारी नदिइकन प्रदेश सरकारले एकाएक बस्ती उठाउन खोजेको भुमिहीन सुकुम्बासीहरुले बताएका छन् । सोमबार सोही बिषयलाई लिएर सुकुम्बासीहरुले शिलान्यास कार्यक्रममा अवरोध समेत सिर्जना गरेका थिए । प्रहरी बल प्रयोग गरेर ग्रामको शिलान्यास भएपनि सो प्रति सुकुम्बासीहरु असन्तुष्ट रहेको उनीहरुले बताएका छन् ।

वि.सं. २०२४ सालदेखि आफुहरुले भोगचलन गर्दैै आएको जग्गामा ज्येष्ठ नागरिक भवन निर्माण हुने भन्दै प्रदेश सरकारले विस्थापित गर्न खोजेको स्थानीय भुमि उप्रेतीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘बिना कुनै वैकल्पिक बसोबासको व्यवस्था गरी प्रदेश सरकारले एकाएक सामदामका साथ हामीलाई विस्थापित गर्ने प्रयास गर्‍यो ।’

मोरङको ग्रामथान–६ स्थित खधराहा टोलमा करिब १ सय घरधुरी सुकुम्बासीको छ । मधेसी र थारु समुदायको बसोबास रहेको यस टोलमा सबै भौतिक संरचनाहरु गुठीको जग्गामा निर्माण गरिएका छन् । बसोबास गर्ने तीन चौथाई सुकुम्बासीहरुको विभिन्न शहरमा ठूलाठूला घरहरु रहेका नाम नखुलाउने सर्तमा एक स्थानीयले बताए । उनले भने, ‘यस टोलमा सुकुम्बासी भनेको औंलामा गन्न सकिने जति मात्र छन् । बाँकी सबैको शहरमा आ–आफ्नै घर छ ।’

प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले केहीदिन अघि मात्रै यस क्षेत्रमा बसोबास गर्दै आएका सुकुम्बासीलाई ३ महिनाभित्र जग्गा खाली गर्न पत्र पठाएको थियो । तर उनीहरुले जग्गा अझैै खाली गर्न मानेका छैनन् । उनीहरुले बसोबास गर्दै आएको सो जग्गा ऐलानी नभएर प्रदेश सरकारले गुठीलाई मुआब्जा तिरेर अधिग्रहण गरेको जग्गा रहेको मन्त्रालयकी सामाजिक विकास महाशाखा प्रमुख दुर्गा भण्डारी बरालले जानकारी दिनुभयो ।

यता प्रदेश सरकारले भने वास्तविक भुमिहीन सुकुम्बासीहरुको व्यवस्थापनमा कुनै कन्जुँस्याई नहुने जनाएको छ । वास्तविक सुकुम्बासीहरुको बिल्लीबाँठ हुन नदिन उनीहरुको यथोचित बसोबासको प्रबन्ध मिलाईने प्रदेश सरकारका सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताउनुभयो । उहाँले वास्तविक सुकुम्बासीहरुको घर नहटाई बढी भएको जग्गा प्रदेश सरकारले अधिग्रहण गर्ने जानकारी दिनुभयो ।

सोमबार भएको शिलान्यास कार्यक्रममा भने स्थानीयले अवरोध सिर्जना गर्दा प्रहरीले लाठी समेत चार्ज गरेको थियो । प्रहरी बल प्रयोग गरेर शिलान्यास गरिएको सो परियोजनाका लागी प्रदेश सरकारले चालु आर्थिक बर्षमा ३ करोड ५० लाख बजेट समेत विनियोजन गरिसकेको छ ।

सोमबार, २९ मंसिर, २०७७, साँझको ०७:२८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर