विराटनगर । मोरङको मिक्लाजुङ गाउँपालिका १ रमितेखोलामा संयुक्त सुरक्षा बेस क्याम्प स्थापना भएको छ ।
लामो समयदेखि स्थानीय जनताले माग गरेको सुरक्षा बेस क्याम्प विप्लव समूहले त्यहाँका एकजना शिक्षकको हतया गरेपछि मात्र स्थापना भएको हो । आइतबार ३६ जना सशस्त्र प्रहरी र १५ जना नेपाल प्रहरी रहनेगरी अस्थायी वेस क्याम्प स्थापना भएको हो । मिक्लाजुङको आइतबारेमा अस्थाई क्याम्प स्थापना गरिएको छ । साथै आपतकालिन रुपमा प्रयोग गर्नसक्ने गरी रिजर्भ फोर्ससमेत तयारी अवस्थामा राख्ने भएको छ
विप्लव समूहले मिक्लाजुङ १ बर्खेस्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको गत मंगलबार घाँटी रेटेर हत्या गरेपछि उक्त क्षेत्रमा सुरक्षा उपस्थिति नभएको भन्दै सरकारको आलोचना भएको थियो । मोरङको विकट पहाडी भूगोल, तेह्रथुम र पाँचथरको सिमाना भएकोले भूमिगत समूहले त्यस क्षेत्रलाई रणनीतिक रुपमा प्रयोग गर्दै आएका थिए ।
शिक्षक श्रेष्ठको हत्यापछि जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी नायव उपरीक्षक (डिएसपी)को कमाण्डामा ४० जनाको टोलीले झण्डै एकसातासम्म सर्च अभियान सञ्चालन गरेको थियो । त्यहाँबाट प्रहरीले हत्यामा संलग्न भएका विप्लव समूहका कुनै कार्यकर्ता पक्राउ गर्न सकेन ।
बेशमा खटिएका सुरक्षाकर्मीले गरिबी निवारण कोष र मिक्लाजुङ गाउँपालिकाको संयुक्त लगानीमा बनेको भवन प्रयोग गर्ने भएका छन् ।
मिक्लाजुङमा तत्काल सुरक्षा आवश्यकता पुरा गर्न अस्थायी क्याम्प स्थापना गरेको मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिनुभयो ।