विराटनगर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा भित्रको विवाद बढ्दै गएको छ । विवाद मिल्ने र सहमति हुने सम्भावना घट्दै गएपछि गुटगत भेलाहरु जिल्ला तहसम्म तलसम्म विस्तार भएको छ ।
गत सोमबार विराटनगरमा अध्यक्ष तथा प्रधानमन्त्री ओली समूह निकट विद्यार्थीहरुको भेला सम्पन्न भएको थियो । त्यस भेला लगतै मंसिर २७ गते शनिबार मोरङको सुन्दरहरैंचामा प्रदेश १ स्तरीय युवा भेला आयोजना गरेको छ । भेलालाई सम्वोधन गर्न नेकपाका केन्द्रीय सदस्य तथा पूर्व संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटा आउनुभएको थियो ।
शनिबार ओली पक्षले शक्ती प्रदर्शनसहित भेला गरेको थियो । भेलामा नेकपा नेता पूर्वमन्त्री गोकुल बाँस्कोटाले सम्बोधन गर्नुभयो । त्यस अघि मोटरसाइकल ¥याली निकालिएको थियो ।
ओली पक्षका युवाहरूले प्रचण्ड र नेपाल पक्षलाई शक्ति देखाउन भेला आयोजना गरेको हो । आज नेकपाका अध्यक्ष प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्रीको गृहजिल्ला झापामा विद्यार्थीको भेला बोलाएको छ । भेलामा प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो, नेकपाका केन्द्रीय सदस्यहरु महेश रेग्मी, शिवकुमार मण्डल, अनेरास्ववियुका केन्द्रीय सहसंयोजक रन्जित तामाङ, पूर्व केन्द्रीय सचिव वसिम आलम, अनेरास्ववियुका केन्द्रीय सदस्य सुदेश पराजुलीलगायतको सहभागीता रहेको छ ।
आइतबार प्रधानमन्त्रीको गृहनगरमा आयोजना भएको विद्यार्थी भेला प्रदेश स्तरीय रहेपनि मंगलबार विराटनगरमा हुने विद्यार्थी र युवाको भेला जिल्ला स्तरीय हुने अनेरास्ववियूका केन्द्रीय सचिव वसिम आलमले जानकारी दिनुभयो ।