लोड हुँदैछ...

मेनु

ओलीले नै लिंग र रंग छुट्याएका हुन् –बास्कोटा

ओलीले नै लिंग र रंग छुट्याएका हुन् –बास्कोटा

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य तथा पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले प्रधानमन्त्री केपी शर्मा ओलीले तात्कालिन नेकपा एमालेलाई रङ्ग र लिङ्ग दिएर दिशा प्रदान गरेको बताउनुभएको छ ।

प्रदेश १ स्तरीय ओली पक्षीय युवाहरुको भेलालाई सम्बोधन गर्नुहुँदै नेता बास्कोटाले भन्नुभयो ‘ रङ्ग नभएको एमालेलाई केपी ओलीले ‘लिंग र रङ्ग’ दिएर दिशा प्रदान गर्नुभयो ।’

भेलामा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालप्रति आक्रमक अभिव्यक्ति दिनुभएका नेता बास्कोटाले हारलाई स्वीकार गर्न नसकेर नेपालले कुंठा पालेको आरोप लगाउनुभयो । उहाँले जनताको बहुदलीय जनवादलाई स्वीकार गर्न नसक्नेहरुका विरुद्ध गाउँगाउँमा गएर केपी ओली जिन्दाबादको नारा लगाउन पनि युवाहरुलाई निर्देशन दिनुभयो ।

नेकपाका अध्यक्ष प्रचण्ड केपी ओलीका सामु फिका पात्र भएको भन्दै उनीहरुले दयाको भाव प्रकट गरे । प्रचण्डको राजनीतिक उद्दार गर्नका लागि मात्र पार्टी एकता गरेको बास्कोटाले बताउनुभयो । उहाँले ओली इतरका पूर्व एमालेका नेताहरुप्रति कटाक्ष गरेपनि पूर्व एमाले एक हुनुपर्छ भन्न चाँही छुटाउनुभएन ।

नेकपा अध्यक्ष प्रचण्डले सचिवालयमा पेश गरेको राजनीतिक प्रतिवेदनमा भारतीय खुफिया एजेन्सीका प्रमुखलाई बालुवाटारमा भेटेको विषयमा प्रश्न उठाएकोप्रति कटाक्ष गर्दै बास्कोटाले भन्नुभयो ‘जासुस आओस् कि डाकूँ आओस् कुनै देशको प्रतिनिधि वार्तामा आउँछ भने रातो कार्पेट ओछ्याएर स्वागत गरिन्छ ।’

आफुमाथि ७० करोड कमिशन मागेको आरोप लागेको घटनाको स्पष्टिकरण दिँदै उहाँले न्यायिक निरुपण नहुन्जेलसम्मका लागि आफुले पदबाट राजिनामा दिएको तर त्यस्तै आरोप लागेका पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले राजिनामा नगरेकोप्रति असन्तुटि व्यक्त गर्नुभयो ।

गुटबन्दीलाई कसिलो बनाउने र कार्यकर्ताहरुलाई केपी ओली जिन्दाबाद भन्दै गाउँगाउँ जान निर्देशन दिनुभएका नेता बास्कोटाले पार्टी फुटेको खण्डमा नेपाली काग्रेंसले खुट्टाहल्लाएर सत्ताको स्वाद लिने अवस्था रहेकोमा चिन्ता भने गर्नुभयो ।
भेलामा प्रदेश १ का युवाहरुको बाक्लो उपस्थिति थियो । त्यस अघि मोटरसाइकल र्याली निकालेर शक्ति प्रदर्शनसमेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds