इलाम । प्रदेश नं. १ का मूख्यमन्त्री शेरधन राईले आतंक हैन समृद्धिको बाटोमा अघि बढ्नुपर्ने बताउनु भएको छ । इलामको माङसेबुङ गाउँपालिकाको माङमालुङमा महाप्रभु ज्योतिनन्द माङपाहाङ राईगुरुको शालिकको अनावरण कार्यक्रमको सम्वोधन गर्दे राईले हत्या हिंसा, आतंकले देश विकास नहुने भन्दै समृद्धिको बाटोमा अघि बढ्नुपर्ने बताउनु भएको हो ।
विश्वका कुनै पनि देशमा यूद्घको कुरा छैन, हिंसाको कुरा छैन, जुनसुकै मुलुकमा रहेका सबै नागरिकहरु शान्ति, एकता सहिष्णुता, सद्भाव र सम्मानको पक्षमा हिँडिराखेको भन्दै राईले अब हत्या, हिंसा आतंकबाट होइन समृद्धिको बाटोबाट अघि बढ्नु पर्ने बताउनु भएको हो । ‘शक्ति राष्ट्रहरु विज्ञान र प्रविधिको माध्यमबाट आफूलाई बलियो र शक्तिशाली सावित गर्नको लागि होडबाजी गरिरहेका छन्,’ उहाँले भन्नुभयो, ‘हामी नेपालीहरु पनि शान्ति, एकता, सहिष्णुता, सद्भावको पक्षमा अघिबढीरहेको र विभिन्न कालखण्ड पार गर्दै हामी एक ढिक्का भएर उभिन सकेको भन्दै सबै प्रकारका द्वन्द्व हामीले व्यवस्थापन गर्दै सबैजात, भाषाका नागरिक एक आपसमा समृद्धिको लागि अघि बढ्नुपर्छ ।’
स्थानीय सरकार माङसेबुङ गाउँपालिकाको आर्थिक वर्ष २०७५/०७६ को बजेटबाट जम्मा १४ लाख र अन्य सहयोगी निकायबाट प्राप्त सहयोगको लगभग ४० लाख गरी ५० लाख बढीको लागतमा निर्माण भएको शालिकको जम्मा लागत ६० देखि ७० लाख पुग्ने अनुमान गरिएको आयोजक निर्माण समिति माङमालुङ अखण्ड ज्योतिसिद्ध चारधाम संस्थाका अध्यक्ष देशवहादुर राईले बताउनु भयो ।
थप लागतको लागि प्रदेश नं. १ सरकारसँग बजेट माग गरिएको छ । कार्यक्रममा बोल्दै मूख्यमन्त्री राईले शालिक निर्माण तथा माङ्मालुङ पर्यटन प्रवद्र्धनको लागि ३५ लाख रकम बिनियोजन गरिने प्रतिवद्धता जनाउनु भयो ।
महाप्रभु ज्योतिनन्द गुरुको जन्म वि.स. २०१४ साल मंसिर ७ गते इलामको वेतेनीमा आफ्नो मावाली गाउँमा भएको थियो । ज्योतिनन्दको आफ्नो घर भने साविक इभाङ गाउँ विकास समिति वडा नं. ४ हालको माङसेबुङ २ पावा हो । गुरु बुवा दिल वहादुर माङपाहाङ राई र आमा दिलमाया राईको कोखबाट एक मात्र छोराको रुपमा जन्मनु भएको थियो ।
गुरुका ५ जना दिदिबहिनीहरु रहेका छन् । दिदिबहिनीहरुमध्ये ३ जना अझै जिवित रहेका छन् भने २ जनाको देहावसन भईसकेको छ । ज्योतिनन्दका एक छोरा छन् । छोरा अर्जुन माङपाहाङ समेत माङथुक्पा (पुजारी) रहेका छन् । गुरुको मृत्यू २०४१ साल पुष ११ गते निजी निवासमा भएको थियो ।
गुरुलाई माङमालुङ देवस्थल उजागर कर्ता ज्योती दर्शकका प्रवर्तक महाप्रभुको रुपमा चिनिन्छ । उनी खासगरी माङमालुङ धार्मिक क्षेत्रको उत्खनन्कर्ता मानिन्छ । प्राकृतिक रुपमा धनी माङमालुङ क्षेत्रमा उहाँले ऐतिहासिक उत्खनन्, पहिचान, निर्माण र संरक्षण गरी माङ्को स्थानको रुपमा माङमालुङलाई सर्वप्रथम चिनाउनु भएको थियो ।