विराटनगर । बलात्कार आरोपी सिद्धबाबाको बलात्कार मुद्दामा सफाई दिने सुनसरी जिल्ला अदालतका न्यायाधीश अर्जुन कोइराला विरुद्धमा न्याय परिषद्मा उजुरी परेको छ ।
पीडित महिलाकै तर्फबाट न्यायपरिषद्मा उजुरी दर्ताको प्रकृया बढेको बताइएको छ । बिहीबार अपरान्ह उजुरी दर्ता गर्न पुगेको पीडित पक्षबाट परिषद्ले औपचारिक नोटिस पाएको भन्दै उजुरीको रित पुगेनपुगेको विषय अध्ययनपछि आजै दर्ता हुने बताइएको छ ।
न्याय परिषद्का सदस्य रामप्रसाद श्रेष्ठले आफूले हिजो पीडितका कुरा सुनेर नोटिस समेत गरेको बताउनुभयो । न्याय परिषद्मा कार्यरत एक उपसचिवका अनुसार पीडितको उजुरी दर्ता प्रकृयामा छ र आज दर्ता हुनेछ ।
न्याय परिषद् सदस्य श्रेष्ठका अनुसार न्यायाधीश कोइरालाले गरेको फैसला मगाइएको छ । त्यो फैसला पढेपछि मात्र न्यायाधीशले गलत मनसायले फैसला गरेको हो वा होइन भन्न सकिन्छ ।
बलात्कारको मुद्दामा न्यायिक प्रकृया विपरित मुद्दा फैसला भएको भन्दै त्यस क्षेत्रबाटै फैसलामाथि विविध टिप्पणी भइरहेको छ ।