बलात्कारको घटना मिलापत्र गराउने छ जना पक्राउ

विराटनगर । बलात्कार जस्तो जघन्य अपराधको घटना गाउँमै मिलापत्र गराएको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । मोरङको धनपालथान गाउँपालिकाबाट इलाका प्रहरी कार्यालय रंगेलीको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

बलात्कारको घटना मिलापत्र गराएको आरोपमा धनपालथान गाउँपालिका ५ का ६५ वर्षे धनेशु खवास, ५३ वर्षे सुधार सिंह खवास, ६२ वर्षे मागन खवास, ६२ वर्षे कलकनु खवास, रंगेली नगरपालिका १ का ६७ वर्षे जगतनारायण खवास र बेलबारी नगरपालिका ८ का ५३ वर्षे मथालु खवास पक्राउ परेका हुन् ।

भदौ २४ गते सुनवर्षीकी २१ वर्षे किशोरीलाई खेतमा मल छर्दैगर्दा बेलबारी नगरपालिका ८ का ३२ वर्षे सुरेशकुमार खवासले जबरजस्ती करणी गरेको घटना बाहिरिएपछि जबरजस्ती मिलापत्र गराइएको थियो ।
गाउँघरमै दुवै पक्षका मानिसहरु बसेर पीडित पक्षलाई ५ लाख दिने सहमति गरेको कागज प्रहरीले फेला पारेपछि मिलापत्र गराउने कार्यमा संलग्न ६ जना पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसी मानबहादुर राईले जानकारी दिनुभयो । जबरजस्ती करणी गरेको आरोपमा मुख्य अभियुक्त सुरेशकुमार खवास यस अघिनै पक्राउ परिसकेका छन् ।

पीडित किशोरी खवासले जवरजस्ती करणी गरेको घटना भएको एकमहिना पछि प्रहरीमा उजुरी दिनुभएको थियो । महिलाको उजुरीपछि पीडक खवास फरार भएका थिए । प्रहरीले खवासलाई मंसिर १९ गते रंगेली नगरपालिका ७ बाट पक्राउ गरेको थियो । थप अनुसन्धानका क्रममा घटना मिलापत्र गराएको खुलेको थियो । त्यसको कागजसमेत भेटिएपछि प्रहरीले मिलापत्र गराउने कार्यमा संलग्न व्यक्तिहरुलाई पक्राउ गरेको हो ।

‘अनुसन्धानका क्रममा पक्राउ परेका खवासको बयानको आधारमा बलात्कारको घटना मिलापत्र गराएको पाइयो,’ मोरङ प्रहरीका प्रवक्ता राईले भन्नुभयो ‘लिखत गरेको कागजसमेत भेटिएपछि हामीले थप ६ जनालाई पक्राउ गरेर अनुसन्धान बढाएका छौं ।’ मिलापत्र गराउने कार्यमा अरु केही व्यक्तिहरुको पनि संलग्नता देखिएको र उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

शुक्रबार, २६ मंसिर, २०७७, दिउँसोको १२:४७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर