दाहाल-नेपाल पक्ष अनेरास्ववियूले प्रदेशस्तरीय भेला गर्ने

विराटनगर । नेकपा भित्रको आन्तरिक विवाद बढिरहेको बेला प्रदेश १ मा नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधव नेपाल पक्षले छुट्टै विद्यार्थी भेलाको तयारी थालेका छन् । केही दिन अघि नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पक्षधर विद्यार्थीहरुले विराटनगरमा भेला आयोजना गरेपछि अर्को पक्षले पनि त्यस्तै गुटभेलाको तयारी गरेको हो ।

प्रचण्ड र नेपाल समूहका विद्यार्थीहरुले मंसिर २८ गते झापाको दमकमा प्रदेशस्तरीय विद्यार्थी भेलाको तयारी गरेका हुन् । सोमबार विराटनगरमा ओली पक्षका विद्यार्थीहरुको प्रदेशस्तरीय भेला आयोजना भएको थियो । भेलालाई प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कुमार कार्कीले सम्बोधन गर्नुभएको बताइएको थियो । गोप्यरुपमा भेला आयोजना भएको सूचना बाहिरिएपछि अर्को पक्षले घोषणा गरेरै भेलाको आयोजना गरेका हुन् ।

ओली पक्षले विराटनगरमा गोप्य भेला गरे पनि नेपाल–प्रचण्ड पक्षका विद्यार्थीको भेला खुला रुपमा आयोजना गरेको अनेरास्ववियुका सचिव वासिम आलमले बताउनुभयो । सोमबार विराटनगरमा भएको ओली पक्षको भेलामा फोटो खिच्न तथा रेकर्ड गर्न नदिइए पनि दमकमा भने मिडियालाई बोलाएर आफ्ना विषय राख्ने आलमले जानकारी दिनुभयो ।

शुक्रबार, २६ मंसिर, २०७७, बिहानको १०:३५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर