लोड हुँदैछ...

मेनु

नेकपा नेताका छोरासहित तीन पक्राउ

नेकपा नेताका छोरासहित तीन पक्राउ

उर्लाबारी । गत कार्तिक २८ गते उर्लाबारी–९ दुर्गापुरीका व्यवसायी इन्द्र लामामाथि सांघातिक हमला गर्ने समुहका तीन जना पुनः पक्राउ परेका छन् । उनीहरु घटना लगतै पक्राउ परेपनि राजनीतिक दलका स्थानीय अगुवाको दबाबमा केहि घण्टापछि छुटेका थिए ।

व्यवसायी तथा सामाजिक अभियान्ता लामा साथीहरु संग आफ्नै काष्ठ मिलमा खानपिन गरिरहेका बेला आक्रमणमा परेका थिए । उर्लाबारी–८का प्रज्वल गौतम नेतृत्वको ८÷१० जनाको समूहले लामालाई कुटपिट गरेका थिए । घरेलु हतियारसहित आएको समुहको आक्रमणले बेहोस भएका लामालाई तत्कालै बिर्तामोडको बी एण्ड सी अस्पताल पुर्याएर उपचारार्थ भर्ना गरिएको प्रत्यक्षदर्शीले बताए ।

लामाको टाउको र हातमा गहिरो चोट छ । विहीबार इलाका प्रहरी कार्यालय उर्लाबारीले आक्रमणमा संलग्न उर्लाबारी–८ का प्रज्वल गौतम, केशव घिमिरे र खेमराज ओझालाई नियन्त्रणमा लिएको हो । आक्रमणमा संलग्न प्रज्जवल सत्तारुढ नेकपा उर्लाबारीका अध्यक्ष उमाकान्त गौतमका छोरा हुन् भने केशव घिमिरे उर्लाबारीस्थित सुनगाभा बोर्डिङका शिक्षक र खेमराज ओझा पशु प्राविधिक हुन् ।

लामामाथि आक्रमण भएसंगै घटनामा एक थान काठको दराज, आइफोन ६, आइप्याड एयर २ मा क्षति भएको जनाइएको छ । पक्राउ परेका तीनै जनालाई अभद्र व्यवहार सम्बन्धि मुद्दा चलाइएको प्रहरी निरीक्षक उद्धव पोखरेलले बताए । उनीहरु लाई विहिबार नै म्याद थप गरिएको प्रहरीले जनाएको छ । अन्य आक्रमणकारीको पहिचान खुल्न नसकेकोले अनुसन्धान भइरहेको इन्सपेक्टर पोखरेलको भनाई छ ।

यसअघि पक्राउ परेका तीनै जनालाई छुटाउन उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोसहित उर्लाबारी उद्योग बाणिज्य संघका अध्यक्ष प्रितम खड्गी र स्थानीय ठेकेदार नेत्र घिमिरेले प्रहरीलाई दबाब दिएको स्रोतले जनायो । यद्यपि जाहेरी नपरेकोले पनि तत्काल अनुसन्धान गरिएन भन्दै प्रहरी स्रोतले भन्यो ‘घटनाको प्रकृति हेर्दा पीडितको जाहेरी उपयुक्त ठहरेकोले मुद्दा चलाइएको हो ।’

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds