मोरङ प्रहरीबाट विवादास्पद सूचना प्रवाह

विराटनगर । मोरङ प्रहरीले बिहीबार दिउँसो ३ बजेर ४८ मिनेट जाँदा संचारकर्मीहरुको इमेलमा ‘३३ लाख भन्दा बढिको भन्सार छली चोरी पैठारी गरी अवैध रूपमा भण्डारण गरेको अवस्थामा कपडा बरामद’ शीर्षकमा समाचार पठायो ।

समाचारमा बिहीबार दिउँसो १ बजे विराटनगर महानगरपालिका वडा नं. ७ जलजला चोकनजिकको तरुण कुमार साह (रौनियार) को गोदाम पसलमा भन्सार छली चोरी पैठारी गरी अबैध रुपमा भण्डारण गरेको सो मूल्य बराबरको सामान बरामद गरेको उल्लेख छ ।

जिल्ला प्रहरी कार्यालय मोरङको सोही इमेल ठेगानाबाट पुनः सोही सामान बरामदबारे दिउँसो साढे ४ बजे ‘लक्ष्मी ट्रेडर्सबाट बरामद लत्ताकपडा’ भन्ने शीर्षकमा १८ सेकेन्डको भिजिुयल पनि पठाइयो । भिजुयल आएको १० मिनेट पछि पुनः १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरबाट सोही समाचार आयो ‘अबैध रुपमा भण्डारण गरिएको लत्ता कपडा बरामद ।’

जिल्ला प्रहरी कार्यालय मोरङले पठाएको सूचनाको डिजिटल कपिमा प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मानबहादुर राईको हस्ताक्षर छ भने प्रदेश प्रहरी कार्यालयबाट सूचना समन्वय अधिकृत तथा प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक कबिन्द्र कुमार कार्कीको नाममा सूचना आएको छ ।

प्रहरी कार्यालयबाट आएको आधिकारिक सूचनालाई आधार मानेर प्रायः संचार माध्यामले समाचार बनाए र प्रकाशन प्रसारण गरे । तर, पुनः जिल्ला प्रहरी कार्यालय मोरङबाट साँझ ५ बजे अर्को सूचना आयो, ‘प्रेस रिलिज नं. ४९८ द्वारा (३३ लाख भन्दा बढिको भन्सार छली चोरी पैठारी गरी अवैध रूपमा भण्डारण गरेको अवस्थामा कपडा बरामद) पठाईएको समाचार प्रकाशन प्रसारण नगरी दिनु हुन अनुरोध गरिएको छ ।

पुनः साँझ ५ बजेर २० मिनेट जाँदा समाचार सच्याइएको भनेर अर्को सूचना आयो । तर त्यस अगाडि पठाएको सूचना र अन्तिममा पठाएको सूचनामा कमा (,) र पूर्णबिराम (।) पनि परिवर्तन भएको छैन । तस्करीको सामान बरामद गरेको सूचना पठाउने, फेरि पत्रकारलाई समाचार नलेख भन्दै अर्को इमेल पठाउने कार्यले जिल्ला प्रहरी कार्यालयको नियत के हो भन्ने प्रश्न उठाएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङमा विगत एक सातादेखि यसखालका सूचनाको दोहोर्याउँदै पठाउँदै गर्ने तरिका गैरजिम्मेवार पूर्ण छ । प्रहरी कार्यालयको इमेलबाट सूचना आउनु राम्रो कुरा हो । तर, पठाइसकेको सूचनालाई तारान्तार परिवर्तन गर्नु भनेको त्यहाँको कार्यशैली त्रुटिपूर्ण छ भन्ने अर्थ लाग्ने अग्रज पत्रकार अनन्तराज न्यौपाने बताउनुहुन्छ ।

जिल्ला प्रहरी कार्यालय मोरङले एक साताअगाडि प्रहरी प्रवक्ता परिवर्तन गरेको, फेरि १ दिनपछि अर्को परिवर्तन गरेको, पुनः अर्को ल्याएको भनेर प्रवक्ता परिवर्तनको सूचना धेरै पटक आएको छ । आजको निर्णय भोली नै परिवर्तन गर्नुपर्ने हो भने त्यहाँ भित्र के खिचडी पाकिरहेको छ भन्ने प्रश्न उठेको छ । पछिल्लो समय तस्करीको लाइन सिमा क्षेत्रमा खुलाएको आरोप लागिरहेको बेला जिल्ला प्रहरी कार्यालयको यस्तो सूचना प्रणालीले कतै तस्करको प्रभाव परेर त समाचार प्रसारण नगर्नु भनेको होइन ? भन्ने आशंकालाई नै बल पु¥याएको छ ।

पहिले पठाएको सूचना
समाचार नछाप्नु भनि पठाएको सूचना
प्रदेश प्रहरी कार्यालयले पठाएको सूचना

 

पछि पठाएको सूचना
बिहिबार, २५ मंसिर, २०७७, साँझको ०६:०४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर