उर्लाबारी । मोरङको पूर्वोत्तर विकट पहाडी गाउँ मिक्लाजुङ गाउँपालिका १ स्थित बर्खेमा सोमबार साँझ केहि नचिनेका मान्छे स्थानीयले देखेका थिए । स्थानीय सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठकी श्रीमती धनकुमारी श्रेष्ठले आफ्नो घर छेउमा आएर दुई जना बसेको देखेकी थिइन् । सुरक्षा निकायको उपस्थिति नरहेको सो क्षेत्रमा नेत्रबिक्रम चन्द विप्लब नेतृत्वको नेकपाका कार्यकर्ताको उपस्थिति भइरहने भएकोले उनले खासै वास्ता गरिनन् ।
मंगलबार विहानै ५३ वर्षीया धनकुमारी घरबाट निस्किएर बाख्रालाई घाँसपानी दिन गइन् । प्रअ श्रेष्ठ भने रिचार्ज कार्ड किन्न छिमेकी मदन श्रेष्ठको पसलतिर गए । धनकुमारी बाख्रालाई घाँसपानी हालेर घर फर्कँदा श्रीमान राजेन्द्र घरमा थिएनन् । छिमेकमा सोधखोज गर्दा ४–५ जनाको समूहले सोधपुछ गर्नुछ भन्दै लिएर गएको बुझियो ।
विप्लब समूहका कार्यकर्ताको आवतजावत भइरहने भएकोले सोधपुछ गरेर छोडिहाल्छन् भन्ने परिवार र स्थानीयको बुझाई थियो । तर, उनी नफर्किएपछि करिब ८ बजेतिर श्रेष्ठको परिवार र स्थानीय उनको खोजीमा निस्किए । करिब १ किलोमिटरको दुरीमा पुग्दा उनीहरुले श्रेष्ठको विभत्स शव देखे ।
विहान ८ बजे प्रधानाध्यपक श्रेष्ठको शव भेटेपछि स्थानीयबासीले वडाध्यक्ष नरबहादुर राईलाई घटनाका बारेमा जानकारी गराएका थिए । वडाध्यक्ष राईले घटनाका बारेमा प्रहरी तथा सम्बन्धित निकायमा जानकारी गराएका थिए ।
सोधपुछ भन्दै लगिएको थियो
श्रेष्ठको अपहरण भएको एक घण्टापछि नै विप्लवका कार्यकर्ताले हत्या गरेका थिए । घरमा एक्लै भएको अवस्थामा प्रधानाध्यापक श्रेष्ठलाई हात बाँधेर लैजाने समूहले छिमेकीलाई सोधपुछका लागि लगेको बताएका थियो । सोधपुछका लागि भन्दै प्रधानाध्यापक श्रेष्ठलाई जंगलतर्फ लगेको थाहा पाएका स्थानीयले केहि समयपछि गोली चलेको आवाज सुनेका थिए ।
गोली चलेको अवाज स्थानीयले सुनेकोले उनीमाथि गोली चलाएको अनुमान गरिएको थियो । तर, प्रहरी घटनास्थल पुग्दा घाँटी रेटेर विभत्स तरिकाले प्रधानाध्यापक श्रेष्ठको हत्या भएको खुल्यो । उनको घाँटीमा काटिएको दुईवटा गहिरो चोट छ भने दुबै हात बाँधिएको अवस्थामा शव भेटिएको थियो ।
शव भेटिएको स्थानभन्दा करिब ५० मिटरमाथि प्रधानाध्यापक श्रेष्ठको मोवाइल, टोपी र चप्पल भेटिएको छ । त्यहाँ रगतको टाटासमेत भेटिएकोले अपहरणकारी समूहले श्रेष्ठलाई सोही स्थानमा यातना दिएको अनुमान गरिएको छ ।
घटनास्थलमा प्रहरी पुग्न ७ घण्टा
प्रधानाध्यापक श्रेष्ठको हत्या भएको जानकारी प्रहरीसँग लगभग विहान ८ बजे पुगिसकेको थियो । तर, प्रहरी भने घटनास्थलमा दिउँसो ३ बजे मात्र पुगेको थियो । इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक उद्धब पोखरेलसहित जनपद र सशस्त्र प्रहरी घटनास्थलमा ट्याक्टर चढेर पुगेको थियो ।
मिक्लाजुङ गाउँपालिका वडा नं. १ को कार्यालय आइतबारेबाट करिब ३ घण्टामा पैदल हिँडेपछि मात्र घटनास्थल पुग्न सकिन्छ । अत्यन्तै विकट तथा बिग्रेको सडकका कारण प्रहरीलाई घटनास्थल पुग्न समय लागेको थियो । जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी मानबहादुर राई नेतृत्वको प्रहरी टोलीको गाडी लावा खोला नजिक बिग्रेपछि ढिलो गरि घटनास्थलमा पुगेको थियो ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी सन्तोष खड्का नेतृत्वको टोली भने घटनास्थलमै पुगेन । साँझ परेपछि आइतबारे पुगेको प्रहरी टोली त्यहिबाट फर्किएको थियो ।
प्रहरीले नै गलत सूचना दियो
घटनास्थलमा प्रहरी दिउँसो ३ बजे पुगेको थियो । तर, प्रहरीले बिहानै अधिकांश सञ्चार माध्यमलाई नेत्रविक्रम चन्द ‘विप्लव’ले प्रधानाध्यापक श्रेष्ठको गोली हानेर हत्या गरेको सूचना दिएको थियो ।
घटनास्थलमा पुग्दा मात्र प्रहरीले गोली होइन धारिलो हतियार प्रयोग गरि श्रेष्ठको हत्या भएको पाएको थियो । प्रहरीले घटनास्थलमा नपुगी सुनेको आधारमा गोली प्रहार गरी हत्या गरेको सूचनाले प्रहरी नै पंंगु’ बन्न पुगेको थियो । तर, स्थानीयवासी भने गोली चलेको आवाज नसुनेको बताउँछन् । त्यसमाथि विप्लब समूहले साँझपख मात्र घटनाको जिम्मेवारी लिएकोमा प्रहरीले घटनालगत्तै विप्लब समूहले हत्या गरेको सूचना कसरी सार्वजनिक ग¥यो भन्ने प्रश्न स्थानीयको छ ।
घटनापछि त्रासमा स्थानीय
प्रधानाध्यापक श्रेष्ठको विभत्स तरिकाले हत्या भएपछि स्थानीयबासी त्रासमा छन् । मिक्लाजुङ वडा नं. १ साविक रमितेखोला गाविसमा सुरक्षा निकाय छैनन् । विगत लामो समयदेखि सशस्त्र प्रहरी बेस क्याम्प स्थापनाका लागि माग भइरहेको भएपनि कतैबाट सुनुवाई नभएको वडाध्यक्ष नरबहादुर राईको गुनासो छ ।
त्रासमा वडाबासी बस्नु परेको भन्दै उनले प्रदेश र केन्द्रीय सरकारको ध्यानाकर्षण गराएका छन् । प्रधानाध्यपक श्रेष्ठको हत्या भएपछि गाउँमा बस्न असुरक्षित महशुस भएको स्थानीय गोविन्द श्रेष्ठले बताउनुभयो । जनतालाई सुरक्षाको प्रत्याभूति दिलाउन उनले माग गरे ।
प्रहरी र विप्लवको चपेडामा बर्खेबासी
मोरङको विकट पहाडी क्षेत्र मिक्लाजुङ ‘विप्लब’ समूहको परेडस्थल मानिन्छ । यसमा ‘विप्लव’ समूहको सैन्य तालिम हुँदै आएको सुरक्षा निकायकै दावी छ । पछिल्लो समय बर्खेलगायत क्षेत्रमा प्रहरीको गस्ती बढेको थियो ।
मिक्लाजुङ पाँचथर, इलाम र धनकुटाको सिमानामा पर्ने सो क्षेत्रमा विप्लव समूहको सैन्य गितिविधि तीव्र भएको सूचनापछि प्रहरीले गत कात्तिक १२ गते सर्च अभियान चलाएर दुई जनालाई हतियारसहित पक्राउ गरेको थियो । प्रहरीले चुलाचुली गाउँपालिका–६ का १८ वर्षीय सनम भनिने विज्ञान राई र सप्तरीको सुरुङ्गा नगरपालिका–२ का ३२ वर्षीय प्रतिक भनिने काँशीनाथ घिमिरेलाई पक्राउ गरेकोमा उनीहरुलाई पक्राउ गर्न सहयोग गरेको आरोप श्रेष्ठमाथि लगाइएको छ ।
स्थानीयबासीहरुलाई प्रहरीले अनावश्यक रुपमा शंका गरी तनाब दिने, मोबाइल जफत गर्ने जस्ता कार्य गरेको थियो । सो क्षेत्रका स्थानीय दोहोरो मारमा परेको बताउँछन् । ‘प्रहरी आउँछ हामीलाई तनाब दिन्छ’, स्थानीय एक ब्यक्तिले भने– ‘विप्लव कार्यकर्ता आउँछन् हामीलाई नै तनाब दिन्छन् । अब यहाँ कसरी बस्ने ?’
गाउँमा प्रहरीको गस्ती बढेपछि विप्लब कार्यकर्ता रुष्ट बनेका थिए । दुई कार्यकर्ता गाउँबाटै पक्राउ परेपछि उनीहरुले स्थानीयकै सुराकीको आधारमा पक्राउ परेको भन्दै नछाड्ने धम्की दिँदै आएका थिए ।
बर्खेबासीका प्रिय राजेन्द्र सर
‘विप्लव’ समूहका कार्यकर्ताले बर्बरतापूर्वक ढंगले हत्या गरिएका श्रेष्ठ बर्खेबासीका लागि प्रिय थिए । शिक्षाका साथै विकास निर्माणलगायतका कार्यमा उनकै नेतृत्व हुने गर्दथ्यो । विगत २५ वर्षदेखि उनले सो विद्यालयमा पढाउँदै आएका थिए ।
प्रधानाध्यापक श्रेष्ठले सडक विस्तार, सामाजिकलगायत कार्यमा ठूलो देन रहेको स्थानीय बीरबहादुर राईले बताउनुभयो । उहाँले भाबुक हुँदै भन्नुभयो– ‘हामीले शिक्षासेवा तथा विकासप्रेमी अभिभावक गुमायौं ।’ २०४६ सालबाट शिक्षण पेसा सुरु गर्नुभएका उहाँ एकीकृत अखिल नेपाल शिक्षक संगठन मिक्लाजुङ गाउँ कमिटी सदस्य हुनुहुन्थ्यो ।
विप्लब समूहको झुटो दावी
मंगलबार साँझ विप्लब समूहको नेकपाको मेची–कोशी व्युरो इञ्चार्ज प्रतापले विज्ञप्ति जारी गर्दै घटनाको जिम्मेवारी लिएका छन् । पार्टीविरुद्ध सुराकी गरेको आरोप लगाउँदै सम्झाउन जाने क्रममा हतियार लिएर आइलागेकाले घटना भएको उनको दाबी छ ।
स्थानीयले हतियारसहित आएको समूहले शिक्षक श्रेष्ठलाई अपहरण गरेर लगेको देखेको बताएका छन् । उनको शव दुबै हात बाँधेर घाँटी रेटेको अवस्थामा भेटिएकोले हतियारले श्रेष्ठले आक्रमण गरे भन्ने सो समूहको दावी झुटो भएको स्पष्ट देखिन्छ ।
किन भयो प्रधानाध्यपक श्रेष्ठको हत्या ?
विप्लवले पार्टीविरुद्ध लामो समयदेखि प्रधानाध्यापक श्रेष्ठले सुराकी गरेको र सच्चिन आग्रह गर्दा पनि अटेर गरेकाले यो घटना भएको दाबी गरेको छ । तर, स्थानीयबासीले भने चन्दा नदिएको कारण हत्या भएको हुनसक्ने अनुमान गर्छन् ।
गत असारमा श्रेष्ठसँग ‘विप्लव’ समूहले १० हजार चन्दा मागेका थिए । उहाँले ५ हजार मात्र रहेको बताएपछि सो रकम नलिई ‘विप्लव’ समूहका कार्यकर्ता फर्किएका थिए ।
यो साता पनि बाहिरबाट सरहरु आउनुहुन्छ भन्दै विप्लब समूहले खसी मागेको थियो । तर, श्रेष्ठले खसी नदिएपछि ‘विप्लव’ समूहका कार्यकर्ता रुष्ट बनेको स्थानीयको भनाई छ ।
हत्यारा खोज्न प्रहरीको सर्च अपरेशन
प्रधानाध्यापक श्रेष्ठको हत्या गरिएको क्षेत्रमा प्रहरीले सर्च अपरेशन चलाइरहेको छ । प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार मोरङसहित छिमेकी जिल्लाका समेत प्रहरी उतारेर सर्च अपरेशन चलाइएको हो । मिक्लाजुङ इलाम, पाँचथर र धनकुटाको सीमाक्षेत्रमा अवस्थित विकट पहाडी क्षेत्र हो ।
प्रदेश १ प्रहरी कार्यालयका प्रवक्ता एसपी कमल थापका अनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीसमेत घटनास्थल क्षेत्रमा परिचालित भएको छ । हत्यामा संलग्न विप्लवका कार्यकर्ताको खोजी भइरहेको र हत्यामा संलग्न विरुद्ध कडारूपमा प्रस्तुत हुने योजनासहितको निर्देशन गरिएको उहाँले बताउनुभयो ।
‘सर्च’ मात्र होइन्, स्थायी सुरक्षाको माग
गाउँका समाजसेवी शिक्षकको बर्बरतापूर्वक हत्या गरेपछि शोकसँगै त्रासमा रहेका स्थानीयले दिगो सुरक्षा प्रवन्ध गर्न माग गरेका छन् । शिक्षक राजेन्द्र श्रेष्ठको हत्यापछि आतंकित बनेका स्थानीयले सरकारसँग सुरक्षाको याचना गरेका हुन् ।
‘गाउँमा सामान्य झै–झगडा बाहेक लामो समयदेखि यस प्रकारको जघन्य अपराध भएको थिएन, अहिले एकदमै मिलनसार र समाजसेवी शिक्षकको हत्या भयो,’ मिक्लाजुङ १ आइतबारेका वीरेन्द्र लिम्बुले भन्नुभयो ‘अब यस क्षेत्रका हामी सर्बसाधारणहरु पूर्ण असुरक्षित भएका छौं ।’ गाउँमा घटना हुँदा ६ घण्टा अघि सुरक्षाकर्मीको सहयोग नपाउने गरेको उहाँको भनाई छ ।
‘जिल्लाबाट आएका प्रहरीले एकदुई दिन गाउँमा सर्च अपरेशन चलाएर जान्छ त्यसबाट उल्टो असुरक्षा बढ्छ, त्यसैले सुरक्षा बेस क्याम्प वा स्थायी संयन्त्रको प्रवन्ध गर्नुपर्छ,’ लिम्बूले भन्नुभयो ।