विराटनगर । वाणिज्य तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले चालु आर्थिक वर्षको चार महिनामा एक दर्जन फर्मलाई कारवाही गरेको छ ।
अनुगमनको क्रमममा अस्वभाविक मूल्य अन्तर राखेर कालोबजारी गर्ने, व्यवसाय दर्ता नगर्ने, खरिद बिल नदेखाउने १२ वटा व्यवसायिक फर्मलाई कार्यालयले कारवाही गरेको हो ।
चालु आर्थिक वर्षको कार्तिक मसान्तसम्म प्रदेश १ को चार जिल्लाका फर्ममा गरिएको अनुगमनको क्रममा १२ वटालाई कारवाही गरिएको वाणिज्य तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरका निमित्त कार्यालय प्रमुख सन्तोष पोखरेलले जानकारी दिनुभयो ।
कार्यालयले चालु आर्थिक वर्षको पहिलो चौमासिक अवधिक प्रगति विवरण मंगलबार सार्वजानिक गर्दै झापा, मोरङ, सुनसरी र धनकुटाका व्यवसायिक फर्मको अनुगमन गरि कैफियत भेटिएको फर्मलाई कारवाही गरिएको उहाँले जानकारी गराउनुभयो ।
कार्यालय प्रमुख पोखरेलका अनुसार अनुगमनको क्रममा विराटनगरस्थित सेन्टर बजार र बिकेएम मसलाले अस्वभाविक मूल्यअन्तर राखेर खाद्य वस्तु विक्री वितरण गरेको पाइएपछि जनही २÷२ लाख रुपैयाँ जरिवाना गरिएको पाइएको छ । यस्तै अनुगमनको क्रममा खरिद बिल नदेखाउने ९ र दर्ता नगरी सर्जिकल सामान बेच्ने एक जनालाई कारवाहीको दायरमा ल्याएको छ ।
चालु आर्थिक वर्षमा १ हजार ७ सय ९४ वटा फर्म दर्ता, नविकरण संशोधन भइ ३ लाख ८३ हजार ८५ रुपैयाँ राजस्व संकलन भएको छ । चार महिनामा ५ सय १० वटा नयाँ फर्म दर्ता, ९ सय १४ वटा नवीकरण,३ सय ४० वटा संशोधन र ३० वटा खारेजी भएको कार्यालयले सार्वजानिक गरेको अभिलेखमा देखिन्छ ।